चाँदनी आचार्य
घोडाघोडी (कैलाली), चैत १२ गते । संयुक्त राष्ट्र जनसङ्ख्या कोषले युवाहरूको भविष्य मार्गदर्शनका लागि छलफल सुरु गरेको छ । कोषको सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिमको विभिन्न क्षेत्रमा जोडिएका युवाको विचार समूह बनाइ समग्र युवाको विषयमा संवाद गरिएको हो ।
प्रदेश कार्यालयका प्रमुख राजकुमार ढुङ्गानाले सुदूरपश्चिम युवा विचार समूहले सुदूरपश्चिम प्रदेश सरकार तथा प्रादेशिक युवा परिषद्का रणनीतिक प्राथमिकताहरूमा प्रभाव पार्नेगरी उच्चस्तरीय सुझाव प्रदान गर्ने उद्देश्यले युवा विचार समूहको बैठक अयोजना गरिएको बताउनुभयो ।
समूह छलफललाई सहजीकरण गर्दै प्रदेश प्रमुख ढुङ्गानाले युवाको सहभागिताबाट युवा नेतृत्वयुक्त शासनतर्फ अघि बढ्ने लक्ष्य रहेको बताउनुभयो । वर्षमा तीन पटक सबै प्रदेशमा युवा विचार समूहको छलफल चलाउने र छलफलबाट आएका सुझावलाई कार्यान्यनका लागि सरकारसमक्ष पेस गर्ने लक्ष्य रहेको छ ।
प्रमाणमा आधारित नीतिका लागि पैरवी गर्ने, जीवन सीपमा आधारित यौन तथा प्रजनन स्वास्थ्य शिक्षा विस्तार गर्नु र सार्वजनिक सेवालाई युवामैत्री तथा दिगो बनाउने युवा विचार समूह छलफलको उद्देश्य रहेको छ ।
बिहीबार धनगढीमा आयोजित युवा विचार समूह छलफल कार्यक्रममा सुदूरपश्चिम प्रदेश युवा परिषद्का उपाध्यक्ष गजेन्द्र साउद, एलजीविटीआइक्यु समाजका निरङ चौधरी, पिसवीनका रेनुका ढुङ्गेल, रेश्मी चौधरी, दलित अभियन्ता एवम् फेडोका पशुपति साह कडरा, दृष्टीविहीन युवा समाजका सविता चौधरी, सेती प्रादेशिक अस्पतालका डा. अनिलकुमार सिंह, उद्यमी विरेन्द्र भट्ट, नेपाल उद्याेग वाणिज्य सङ्घ कैलालीका सदस्य अजय पाण्डेलगायतको सहभागिता थियो ।
छलफल कार्यक्रममा वर्तमान युवाका समस्या र १० वर्षपछि युवाको अवस्था के हुने भन्ने विषयमा समूह बनाएर छलफल गरिएको थियो । विभिन्न क्षेत्रमा युवाको अर्थपूर्ण सहभागिता, युवाको भविष्य, वर्तमान अवस्था, चुनौतीका विषयमा गहन छलफल गरिएको छ ।
छलफलमा विभिन्न क्षेत्रबाट सहभागी युवाहरूले आफ्नो क्षेत्रमा युवाहरूको अवस्था, समस्या, चुनौती र अवसरका विषयमा आफ्नो धारणा राख्नुभएको थियो । विशेषगरी डरलाग्दो अवस्थामा बढ्दैगएको लागु पदार्थको दुर्व्यसन, बेरोजगार, विदेश पलायन, लैङ्गिक हिंसा, बढ्दै गएको अपराध मुख्य समस्याको रूपमा औंल्याइएको छ ।
बनेका कानुन तथा नीतिलाई व्यावहारिक रूपमा लागु गर्दै जवाफदेहिता, पारदर्शिता, सुशासनसहितको सेवा प्रवाहमा सरकारको जोड हुनुपर्ने सुझाव दिइएको छ । युवा परिषदका उपाध्यक्ष साउदले छलफलमा आएका सकारात्मक सुझावलाई ग्रहण गर्दै आगामी दिनमा कार्यान्वयनमा ल्याउन भूमिका खेल्ने बताउनुभयो ।
नेपालमा ३६ प्रतिशत युवाको जनसङ्ख्या रहेको छ भने सुदूरपश्चिम प्रदेशमा २२.८ प्रतिशत युवाको सङ्ख्या रहेको छ । राष्ट्रिय युवा नीतिले १८ देखि ३५ वर्ष उमेर समूहलाई युवाको रूपमा परिभाषा गरेको छ ।