• १२ चैत २०८२, बिहिबार

अस्पतालको सेवा सुधारमा जनजाति महासङ्घको सहयोग

blog

अस्पताललाई प्रिन्टर सहयोग गरिँदै । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, चैत १२ गते । तनहुँको दमौलीस्थित प्रदेश अस्पतालको प्रशासनिक तथा प्राविधिक सेवालाई थप चुस्त बनाउन नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) जिल्ला समन्वय परिषद् तनहुँले सहयोगको हात बढाएको छ । 

महाङघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालको सेवा प्रवाहलाई सहज र छरितो बनाउन एक लाख रुपियाँको अत्याधुनिक प्रिन्टर उपलब्ध गराएको हो ।

महासङ्घको जिल्ला अध्यक्ष सनम तामाङले अस्पताल विकास समितिका अध्यक्ष कमलामोहन वाग्ले र अस्पताल प्रमुख डा. परिवर्तन बराललाई बुधबार उक्त सामग्री हस्तान्तरण गर्नुभयो । सामग्री ग्रहण गर्दै अध्यक्ष वाग्लेले भन्नुभयो, “सरकारी अस्पतालको सेवा गुणस्तर सुधार्न समुदाय र सामाजिक संस्थाहरूको यस्तै साझेदारी आवश्यक छ । यो सहयोगले अस्पतालको दैनिक कार्यसम्पादनमा ठुलो टेवा पुग्ने छ ।”

अस्पताल प्रमुख डा. बरालले बिरामीको स्वास्थ्य रिपोर्ट र प्रशासनिक कागजी प्रक्रियामा हुने ढिलाइलाई यो प्राविधिक सहयोगले न्यून गर्ने विश्वास व्यक्त गर्नुभयो । 

नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष डिपी अधिकारीले जनजाति महासङ्घले सांस्कृतिक पहिचानको संरक्षणसँगै सामाजिक सेवामा देखाएको यो तत्परता अन्य सङ्घ संस्थाका लागि पनि अनुकरणीय रहेको बताउनुभयो ।

महासङ्घका अध्यक्ष तामाङले संस्थाको उद्देश्य केवल कला र संस्कृतिको जगेर्ना मात्र नभई मानव हित र सामाजिक क्षेत्रमा क्रियाशील रहनु पनि रहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा महासङ्घका सल्लाहाकार तारप्रसाद श्रेष्ठ, बसुन्धरा घर्ती र सचिव कुमार गुरुङले अस्पतालको आवश्यकता अनुसार आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा महासङ्घका सल्लाहकारहरू ताराप्रसाद श्रेष्ठ, वसुन्धरा घर्ती र सचिव कुमार गुरुङले अस्पतालको आवश्यकता अनुसार आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।