• १२ चैत २०८२, बिहिबार

बैतडीका स्थानीय तहमा बेरुजु बढ्दै

blog

महालेखा परीक्षकको कार्यालयले तयार गरेको प्रतिवेदन । तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल

बैतडी, चैत १२ गते । बैतडीका स्थानीय तहले तहले एक आर्थिक वर्षमै चार करोड ६६ लाख ७८ हजार भन्दा बढी असुल उपर गर्नु पर्ने बेरुजु थपेका छन् ।

महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०÷२०८१ मै असुल गर्नु पर्ने प्रतिवेदन तयार गरे पनि हालसम्म असुल उपर हुन सकेको छैन ।

त्यसमाथि अद्यावधिक बेरुजु झन डर लाग्दो छ । जिल्लाका चार नगरपालिका र छ वटा गाउँपालिकामा हालसम्मको अद्यावधिक बेरुजु २३ करोड ४३ लाख ७० हजार बेरुजु देखिएको छ ।

तथ्याङ्क अनुसार स्थानीय तहले राजस्वबाट प्राप्त रकमको ८० प्रतिशतसम्म पदाधिकारीको सेवा सुविधा, भ्रमण, इन्धन, खाना र निकटका व्यक्तिलाई कर्मचारी भर्ना गरेर सक्ने गरेको पाइएको छ ।  

महालेखाको प्रतिवेदनमा औँल्याए अनुसार आव. २०८०÷२०८१ मा जिल्लाको पाटन नगरपालिका र डिलासैनी गाउँपालिकामा असुल उपर गर्नु पर्ने बेरुजु बढी देखिएको छ ।

पाटन नगरपालिकामा एक आर्थिक वर्षमै असुल गर्नु पर्ने बेरुजु दुई करोड ३१ हजार रहेको छ । यहाँको अद्यावधिक बेरुजु १८ करोड ८० लाख ११ हजार रहेको छ । 

डिलासैनी गाउँपालिकामा एक करोड ८६ लाख रुपियाँ रहेको छ भने अद्यावधिक बेरुजु ४४ करोड ६९ हजार ९४ हजार रहेको छ।त्यसै गरि सिगास गाउँपालिका असुल गर्नु पर्ने तीन लाख ९६ हजार र अद्यावधिक बेरुजु २२ करोड ४४ लाख ५३ हजार रहेको छ ।

सुर्नया गाउँपालिका असुल गर्नु पर्ने ३१ लाख २६ हजार र अद्यावधिक बेरुजु २१ करोड ४४ लाख १४ हजार रहेको छ ।दोगडाकेदार गाउँपालिकामा २०८०÷०८१ मा असुल गर्नु पर्ने बेरुजु ३० लाख  आठ हजार रहेको छ भने अद्यावधिक बेरुजु १९ करोड ४१ लाख ६६ हजार  छ ।

शिवनाथ गाउँपालिका असुल गर्नु पर्ने १९ लाख ४३ हजार रुपियाँ रहेको छ भने अद्यावधिक बेरुजु १४ करोड ६१ लाख ६५ हजार रहेको छ ।त्यसै गरि पञ्चेश्वर गाउँपालिकामा असुल गर्नु पर्ने १४ लाख ७३ हजार रहेको छ भने  अद्यावधिक बेरुजु २३ करोड ६९ लाख ९० हजार  रहेको छ ।

मेलौली नगरपालिका असुल गर्नु पर्ने रकम १६ लाख ३५ हजार रहेको छ । यहाँको अद्यावधिक बेरुजु २५ करोड ८३ लाख ८२ हजार रहको छ । 

स्थानीय तहको पुनसंरचना हुनु अगाडिदेखि नै कायम रहेको दशरथचन्द नगरपालिका एक आर्थिक वर्षमै असुल गर्नु पर्ने ३३ लाख ११ हजार पुगेको छ भने अद्यावधिक बेरुजु ४३ करोड ९७ लाख १६ हजार छ ।

 पुर्चौडी नगरपालिकाको असुल गर्नु पर्ने ३२ लाख ४२ हजार रहेको छ भने हालसम्मको अद्यावधिक बेरुजु १९ करोड ३७ लाख ५९ हजार  छ ।

 पालिकाका वासिन्दाले आधारभूत खानेपानी, बाटो, पुल, बिजुली, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पाउन् नसकेको बेला दुर्गममा पर्ने डिलासैनी गाउँपालिकामा एक आर्थिक वर्षमै असुल गर्नु पर्ने बेरुजु एक करोड रुपियाँ नाघेको छ ।

 महालेखाले असुल उपर गर्नु र्ने औंल्याए पनि असुल हुन नसकेको डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोष जोशीले स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो,“ जनप्रतिनिधिले असुल उपरका लागि पत्र काट्न मिल्दैन । कर्मचारीले भनेको  टेर्दैनन् । कसरी असुल उपर गर्ने ?”