• १२ चैत २०८२, बिहिबार

सेती–कर्णाली नदीमा ‘एङ्गलिङ’ प्रतियोगिता उत्सव

blog

प्रतियोगितामा सहभागी हुन दिपायलस्थित सेती नदी किनारमा पुगेका बिभिन्न देशका नागरिकहरु । तस्बिरः डिलबहादुर सिंह

डिलबहादुर सिंह 

दिपायल (डोटी) चैत १२ गते । डोटी जिल्ला अन्तर्गत पर्ने सेती र कर्णाली नदी क्षेत्रका कतिपय स्थानहरु यतिबेला विदेशी पर्यटकहरुको चहल–पहलले भरिएका छन् । अरु समयमा स्थानीय बासिन्दाको मात्र उपस्थिति देखिने नदी क्षेत्रमा अहिले विदेशी पाहुनाहरूको आवत–जावतले नयाँ रौनकता थपिएको छ । 

शान्त र निरन्तर बगिरहेका सेती र कर्णालीका धारहरूमा स्वदेशी तथा विदेशी एङ्गलरहरू (काँटीद्वारा माछा समात्ने ब्यक्तिहरु) हातमा काँटी र डोरी लिएर माछा समात्ने कलामा तल्लीन रहेका देखिन्छन् । 

डोटीको बोगटान फुड्सिल गाउँपालिकाले आयोजनामा गरेको ‘सेती–कर्णाली अन्तर्राष्ट्रिय महाशिर एङ्गलिङ प्रतियोगिता’ नाम दिइएको अन्तर्राष्ट्रिय स्तरको एङ्गलिङ (काटीले माछा समात्ने) प्रतियोगिताका कारण नदी क्षेत्रमा विदेशी पर्यटकहरुको चहल पहल वढेको हो । 

नेपालमै पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा नेपालसहित बिश्वका बिभिन्न ८ वटा देशका २५ जनाको सहभागिता रहेको छ । प्रतियोगिताको संयोजक देवराज जैशीका अनुसार यहाँको जल पर्यटनको सम्भावनालाई नयाँ ढँगले उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगिता चैत ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । 

प्रतियोगिताको मुख्य आकर्षण ‘क्याच एन्ड रिलिज’ (माछा समात्ने र  छोड्ने) प्रणाली हो । जसमा सहभागीहरूले माछा समातेर पुनः नदीमै छोड्छन् । यसले खेलसँगै वातावरण संरक्षण र जैविक विविधताको संरक्षणको सन्देश पनि प्रवाह गरेको छ । विशेषगरी सेती र कर्णाली नदीमा पाइने महाशिर प्रजातिको माछाको संरक्षणमा प्रतियोगितामार्फत सकारात्मक सन्देश प्रभाह गर्ने अपेक्षा गरिएको छ । प्रतियोगीलाई बिभिन्न चार समूहमा बिभाजन गरेर प्रतियोगिता भइरहेको छ ।

बिभिन्न देशका ब्यावसायिक प्रतियोगिहरुको सहभागिता रहेको प्रतियोगिताका कारण यहाँको प्राकृतिक सौन्दर्यको प्रचार प्रसारका साथै जल क्षेत्रलाई नयाँ गन्तब्यको रुपमा पनि पहिचान भएको सहभागीहरुले बताएका छन् । 

प्रतियोगितामा नेपालसहित नेदरल्यान्ड, बेलायत, फिनल्यान्ड, जापान, मलेसिया, थाइल्यान्ड र भारतका प्रतियोगिहरुको सहभागिता रहेको छ । सबैभन्दा लामो माछा समात्ने उत्कृष्ट प्रतियोगीलाई नगद २५ हजार रुपियाँसहित माछाको आकारको आकर्षक शिल्ड प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोगमा सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय लगायत सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका बिभिन्न स्थानीय तहहरू तथा निजी क्षेत्रको सहकार्य रहेको छ । कैलालीको मोहन्याल गाउँपालिका, बर्दियाको ठाकुरबाबा नगरपालिका र सुर्खेतको चौकुने गाउँपालिकाले समेत प्रतियोगिताको सह–आयोजकको भूमिका निर्वाह गरेका छन् । 

डोटीको बोगटान गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्िसलाले प्रतियोगिताको उद्देश्य केवल प्रतिस्पर्धा मात्र नभई यस क्षेत्रको सम्भावनालाई विश्वसामु चिनाउनु रहेको बताउनुभयो ।

सेती–कर्णाली नदीले बोगटान फुड्सिल गाउँपालिकाको करिव ६५ किलोमिटर भु–भागलाई छोएको छ । जल पर्यटनमार्फत पालिकाले नयाँ संदेश दिन खोजेको छ । प्रतियोगिताको कारणले डोटी र आसपासका क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा उभ्याउने आधार तयार पारेको छ । 

प्रतियोगिताले सुदूरपश्चिमलाई जल पर्यटनको प्रमुख गन्तव्य बनाउने दिशातर्फ अगाडि बढिरहेको देखिन्छ । यस पटक आयोजना गरिएको प्रतियोगिता सफल भएमा सेती र कर्णाली नदीलाई अन्तर्राष्ट्रिय स्तरको एङ्गलिङ प्रतियोगिता नियमित रुपमा आयोजना गर्न सुचिकृत हुने मार्ग खुल्ने बताइएको छ । प्रतियोगिताको समापन सेती कर्णाली जलयात्रा सँगै बर्दिया जिल्लामा पुगेर हुनेछ ।