• १२ चैत २०८२, बिहिबार

चेपाङ बस्ती राम्चेमा विद्यालय भवन बन्दै

blog

राक्सिराङ–१, राम्चेमा दुई कोठे पक्की विद्यालय भवनको शिलान्याश गरिँदै । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, चैत १२ गते । चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–१, राम्चेमा दुई कोठे पक्की विद्यालय भवन निर्माण सुरु गरिएको छ । 

विन्देश्वरी आधारभूत विद्यालयको भवन जीर्ण अवस्थामा पुगेपछि नयाँ पक्की भवन निर्माणका लागि बुधबार शिलान्याश गरिएको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष वनस्तम थिङ, वडाध्यक्ष, ईस्थर बेन्जामिन स्मृति संस्थाका जिल्ला अध्यक्ष बुद्धबीर लामा लगायतले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभएको हो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालकुमार चेपाङका अनुसार २०५६ सालमा स्थापना भएको विद्यालयको भवन जीर्ण भएपछि ईस्थर बेन्जामिन स्मृति संस्थाले २२ लाख लागतमा नयाँ भवन निर्माण गर्न लागेको हो । 

हाल ७५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा पर्याप्त कक्षाकोठा अभावका कारण एउटै कोठामा विद्यार्थी राखेर पठनपाठन गराउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक प्रेमबहादुर नेपालीले जानकारी दिनुभयो । विद्यार्थी करिब एक घण्टा टाढाबाट पैदल हिँडेर विद्यालय आउनुपर्ने अवस्था रहेको छ ।

भौगोलिक विकटताका कारण वर्षायाममा खोलानाला तर्न समस्या हुँदा विद्यार्थी नियमित रूपमा विद्यालय आउन नसक्ने अवस्था रहेको शिक्षक कान्छाराम चेपाङले बताउनुभयो । विद्यालयमा सरकारले उपलब्ध गराएको दिवा खाजा अन्तर्गत चिउरा, दालमोट, जाउलो–तरकारी तथा शुक्रबार अण्डा वितरण गर्ने गरिएको छ ।

यस विद्यालयमा इन्द्रुङ, वाराङ, थुवुङ्ग र राम्चे क्षेत्रबाट विद्यार्थी अध्ययन गर्न आउने गरेका छन् । भौगोलिक विकटता, अशिक्षा र गरिबीका कारण यहाँका बासिन्दाको जीवनस्तर कमजोर रहेको छ । उक्त वडामा कुल ६०४ घरधुरी रहेका छन् ।