अच्युत रेग्मी/रासस
काठमाडौँ, चैत १२ गते । हुन त यो चैत वैशाखको याम जताततै रुखबिरुवामा पालुवा पलाउने र हरियाली हुने समय हो । तर, यसपटक भने काठमाडौँ उपत्यकामा अघिल्ला वसन्तहरू भन्दा केही बढी हरियाली छाएको देखिएको छ ।
वसन्त ऋतुको आगमनसँगै यतिखेर काठमाडौँका कतिपय सडक दायाँबायाँ र बस्तीछेउ सफा र हराभरा भएका छन् । अघिल्लो हप्तासम्म खडेरी र धुवाँधुलोले काठमाडौको आकाश धुम्म थियो । केही दिनयताको वर्षाले रुखविरुवाका पात पखालिए भने सडक र बस्ती पनि सफा भएका छन् ।
वर्षासँगै काठमाडौँ उपत्यकाको आकाशमा देखिएको तुँवालो हटेको छ । तुवाँलो हटेसँगै उपत्यकाका वरपरिका डाँडाहरू पनि स्वच्छ र हरियाली वातावरण देखिएको छ । यतिबेला काठमाडौँको मुख्य सडकका छेउछाउदेखि विभिन्न पार्कमा हरियाली छाएको देख्न सकिन्छ । वसन्त ऋतुमा धेरै विदेशी पाहुनाहरू समेत नेपाल आउने गरेका छन् ।
काठमाडौँको लैनचौर–महराजगन्ज सडक, जमल–भद्रकाली सडक, माइतीघर–तीनकुने सडक, थापाथली–कालिमाटी सडक, ललितपुरको कुपण्डोल–पुल्चोक–जावलाखेल सडकका वरपर फुलेका फूलहरूले मानिसको ध्यान तानेको छ ।
ललितपुरमा विसं २०७४ को स्थानीय तहको निर्वाचनमा चिरिबाबु महर्जन नगर प्रमुख भएसँगै त्यहाँको सडक वरपर रहेका बाेटबिरुवाको संरक्षण गरी थप वृक्षरोपण गरिएको थियो । ललितपुरको जावलाखेलमा रहेको चिडियाखाना वरपर पनि हाल हरियाली छाएको छ । यसैगरी, काठमाडौँको मुटुमा रहेको शङ्खधर उद्यान (रत्नापार्क), बाइसधारा उद्यान (बालाजु पार्क) शङ्खपार्कलगायतका पार्कका बोटबिरुवामा पालुवा पलाएर हरियाली छाएको छ ।
सन् २०१४ को डिसेम्बरमा काठमाडौँमा भएको दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क)को १८ औँ शिखर सम्मेलनको समयमा विदेशी पाहुनाको स्वागतार्थ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, माइतीघर, थापाथली, त्रिपुरेश्वर हुँदै सोल्टी होटलसम्म बाेटबिरुवा रोपिएको थियो ।
तीमध्येका कतिपय बिरुवा हुर्काउन नसकिए पनि केही बिरुवा भने सोही क्षेत्रका स्थानीयले मलजल गरी मर्न दिएका थिएनन् । ती बिरुवा हुर्केर सडक छेउछाउको शोभा बढाएका छन् । बाँकी रहेका ती बिरुवा हुर्केर अहिले काठमाडौँको सौन्दर्यीकरणमा केही चमक थपिदिएको छ ।
कोरोना महामारीको समयमा अक्सिजनको महत्त्वको खुब प्रचार भएको थियो । त्यसपछि मानिसहरूमा सम्भव भएसम्म घर परिसर या वरपरको बस्ती तथा सडकमा रुख बिरुवा हुर्काउनुपर्छ भन्ने चेतना र भावना बढेको पाइएको छ । यसले पनि पछिल्लो समयमा काठमाडौँमा हरियाली वातावरण बनाउन केही सहयोग पुगेको पाइएको छ ।
कोरोनाको बेलामा अक्सिजनको चेतना भएसँगै धेरै मानिसहरूले घर वरपर र छतमा वृक्षरोपण गरेका छन् । त्यस महामारी यता काठमाडौँमा कौशी खेती बढेको पनि पाइएको छ । उक्त कार्यले पनि काठमाडौँको हरियालीमा थप सहयोग पुगेको छ ।
काठमाडौँ महानगरपालिका अन्तर्गत उद्यान तथा हरियाली प्रवर्धन आयोजनाका इन्जिनीयर सरकारदीप श्रेष्ठ महानगरभित्रका विभिन्न १४० खुला स्थानमा पार्क निर्माण गरी हरियाली प्रवर्धनलाई अगाडि बढाउँदै आएको बताउनुहुन्छ ।
“काठमाडौँभित्रका खुला ठाउँमा पार्क निर्माण गरी विभिन्न प्रजातिका फूल रोप्ने, दुबो रोप्ने, खोलाका किनारामा वृक्षरोपण गर्नेलगायतका कामलाई महानगरले प्राथमिकता दिएको छ,” उहाँ भन्नुहुन्छ । महानगरले चार भागमा बाँडर ठेक्कामार्फत पार्कको व्यवस्थापन गर्दै आएको उहाँको भनाइ छ ।
पार्कमा फूल रोप्ने, दुबो रोप्ने, पार्कको सरसफाइ लगायतका काम ठेकेदारमार्फत हुँदै आएको छ । अहिले काठमाडौँ भित्रका अधिकांश पार्कमा सिजनल फूलहरू फुलिरहेका छन् ।
यसबाहेक महानगरले काठमाडौँभित्रका ठुला सडकको आसपासमा रहेका फूटपाथमा बिरुवाहरू रोप्ने कामसमेत गर्दै आएको छ । आर्थिक वर्ष २०८१/०८२ मा मात्र आठ हजार बिरुवा रोपिएको इन्जिनियर श्रेष्ठ बताउनुहुन्छ । चालु आवमा पनि चार हजार बिरुवा रोप्ने कार्यक्रम रहेको उहाँको भनाइ छ ।
महानगरले गत वर्ष रोपेर मरेका बिरुवाको ठाउँमा पुन नयाँ बिरुवा रोप्ने अभियानलाई समेत अगाडि सारेको छ । इन्जिनीयर श्रेष्ठ महानगरले एक सिजनमा ३० हजार फूलका बिरुवा रोप्ने गरेको बताउनुहुन्छ ।
यसबाहेक महानगरले काठमाडौँभित्रका ठुला रुखलाई काँटछाँट गरेर मिलाउने गरेको छ । काठमाडौँभित्रका दुई ठुला नदी बागमती र विष्णुमति नदीको किनारामा पाँच फिटभन्दा अग्ला बेगमबेली र विभिन्न प्रजातिका फलफूल रोप्ने कामलाई अगाडि बढाइएको इन्जिनीयर श्रेष्ठ बताउनुुहुन्छ ।
शङ्खधर उद्यान तथा रानीपोखरी एकाइ (रत्नापार्क)का प्रमुख उत्तमकुमार घले पछिल्लो समय रत्नपार्कको हरियाली हेर्न थुप्रै मानिसहरू आउने गरेको बताउनुहुन्छ । विगत १५ वर्ष अगाडि रत्नपार्कलाई फोहाेरको दृष्टिकोणले हेर्ने गरे पनि पछिल्लो समय महानगरको उद्यान तथा हरियाली प्रवर्धन महाशाखाले रत्नपार्कलाई व्यवस्थित बनाएसँगै यहाँ घुम्न आउनेको सङ्ख्या दिनप्रतिदिन बढ्न थालेको उहाँ बताउनुहुन्छ ।
रत्नपार्कका प्रमुख घले पार्कभित्र ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त, एकल महिलालाई प्रवेश निःशुल्क गरिएको बताउनुहुन्छ । रत्नपार्कभित्र अहिले निःशुल्क इन्टरनेट सेवा जडान गरेसँगै यहाँभित्र प्रवेश गरेर इन्टरनेट सेवा लिनेको सङ्ख्यासमेत बढ्न थालेको छ । काठमाडौँभित्रको वातावरण सौन्दर्यलाई थप प्रभावकारी बनाउन पार्कले विभिन्न योजना अगाडि सारेको छ ।
डिभिजन वन कार्यालयका काठमाडौँको सूचना अधिकारी अनुपा घिमिरे काठमाडौँभित्रको हरियालीलाई कायम गर्न डिभिजन वन कार्यालय काठमाडौँले चाल्नाखेलमा एक लाख बिरुवा उत्पादन गरेको बताउनुहुन्छ । उत्पादित बिरुवालाई वहुवर्षीय रूपमा वृक्षरोपण गर्दै जाने उहाँको भनाइ छ ।
सूचना अधिकारी घिमिरे डिभिजन वन कार्यालयले काठमाडौँभित्रका सडकको सौन्दर्यलाई कायम राख्न गतवर्ष टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, गोकर्णेश्वर नगरपालिका र कलङ्कीदेखि थानकोट सडकका फुटपाथमा एक हजारभन्दा बढी बोटबिरुवा वृक्षारोपण गरेको बताउनुहुन्छ ।
यसबाहेक डिभिजन वन कार्यालयले गतवर्ष काठमाडौँभित्रका विभिन्न सङ्घ, संस्था र समूहलाई वृक्षरोपणका लागि १० हजार बिरुवा उपलब्ध गराएको छ भने काठमाडौँभित्रका १३७ सामुदायिक वनलाई समेत हजारौँ बोटबिरुवा उपलब्ध गराएको सूचना अधिकारी घिमिरे बताउनुहुन्छ ।
डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षमा काठमाडौँका विभिन्न सडक पेटीमा झण्डै एक हजार बोटबिरुवा रोप्ने लक्ष्य लिएको छ ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ कार्डियोलोजिस्ट डा. मिलनप्रकाश श्रेष्ठ हरियाली वातावरणसँगै फोक्सो, मुटुलगायतमा हुने सङ्क्रमणमा कमी आउने बताउनुहुन्छ । “जति स्वच्छ वातावरण भयो, त्यति नै मानिसले स्वच्छ रूपमा श्वासप्रश्वास गर्न पाउँछ, स्वच्छ वातावरण भएसँगै फोक्सो, मुटुलगायतमा हुने सङ्क्रमणमा कमी आउँछ,” डा. श्रेष्ठ भन्नुहुन्छ ।
वसन्त ऋतुको समयमा विभिन्न प्रजातिका बाेटबिरुवाहरूले पालुवा फेर्ने हुँदा यहाँको सौन्दर्यले मानिसमा मनमोहक वातावरण पैदा गरेको छ । पहिले पहिले काठमाडौँ धुलाम्मे तथा फोहर मात्र देखिने सहरका रूपमा मानिसहरूले लिने गर्दथे ।
काठमाडौँको मुहार फेरिएको छ । अब राजधानी सहरलाई त्यसरी चित्रण गर्नु हुँदैन । यो हरियालीले पनि यही सन्देश प्रवाह गर्न खोजेको छ ।