ज्ञानु पङ्गेनी
मध्यविन्दु, चैत १२ गते । छब्बिस वर्षकै उमेरमा सङ्घीय संसद्मा प्रवेश गर्दै गर्दा मनिष खनालमा देश र समाजका लागि केही गर्छु भन्ने भाव प्रष्ट झल्कन्छ । नवलपुर–२ बाट नेकपा (एमाले) का तिलक महतलाई २५ हजार ५९२ मतको फराकिलो मतान्तरले पराजित गर्नुभएका खनालले ४१ हजार २४७ मत प्राप्त गर्नुभयो ।
युवापुस्ताको प्रतिनिधिका रूपमा उदाउनुभएका खनालले जेनजी आन्दोलनको मर्मलाई मर्न नदिने गरी काम गर्ने बताउनुभएको छ । “विद्रोहको जगत्मा मैले उम्मेदवारी दिएर चुनावमा होमिएँ र जित हासिल गरेँ, अब म त्यो विद्रोहको मर्मलाई मर्न नदिने गरी काम गर्छु, मेरो पहिलो प्राथमिकता यही हुने छ,” खनालले भन्नुभयो । उहाँले जेनजी आन्दोलनको भावना, जवाफदेहिता र पारदर्शितालाई आत्मसात् गर्दै जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सांसद भएपछि विकास निर्माण र जनताका समस्या सम्बोधन गर्ने जिम्मेवारी पनि काँधमा आएको हुँदा आफ्नो क्षेत्रको मुख्य समस्याका रूपमा रहेको नारायणी नदी कटान र डुबान, मध्यवर्ती क्षेत्रका समस्या, मानव वन्यजन्तु द्वन्द्वका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिने बताउनुभयो । यस्तै पहाडी पालिका बौदीकाली सुन्तलाको खानी रहेको, अदुवा, अम्रिसोलगायतका कृषिजन्य उत्पादनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने भएकाले त्यसको बजारीकरणका लागि पहल गर्ने बताउनुभयो ।
संसद्मा पुगेपछि नीति निर्माण र कानुन बनाउने काममा पनि सक्रियतापूर्वक लाग्ने बताउँदै उहाँले जनतालाई सकस दिने होइन सहज बनाउने नीति निर्माणमा लाग्ने स्पष्ट पार्नुभयो ।
विसं. २०५६ सालमा काठमाडौँमा जन्मिनुभएका खनालको बाल्यकाल नवलपुरको मध्यविन्दु नगरपालिका–६ मा बितेको हो । उहाँले नवजागरण माध्यमिक विद्यालय, चोरमाराबाट एसएलसी उत्तीर्ण गरी, सेन्ट जेभियर्स कलेजबाट प्लस टु अध्ययन पूरा गर्नुभयो । नेपाल ल क्याम्पसबाट बिए एलएलबी अध्ययन पूरा गर्नुभएका उहाँ राजनीतिक शास्त्रमा स्नातकोत्तरमा अध्ययनरत हुनुहुन्छ ।
विवेकशील नेपाली दलबाट राजनीतिक यात्रा सुरु गर्नुभएका खनाल २०७६ सालमा जनकपुरमा सम्पन्न अधिवेशनबाट सो दलको कान्छो केन्द्रीय सदस्य बन्नुभएको थियो । सामाजिक तथा राजनीतिक न्यायका पक्षमा काठमाडौँ केन्द्रित विभिन्न आन्दोलनमा समेत उहाँले सक्रिय सहभागिता जनाउँदै आउनुभएको थियो ।
खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान सांसद असीम शाहको स्वकीय सचिवका रूपमा काम गरिसक्नुभएको छ । बालेन्द्र शाहले काठमाडाैँ महानगरपालिकाको मेयरको चुनाव लड्दा उहाँ सक्रिय रूपमा लाग्नुभएको थियो ।
युवा उमेरमै सङ्घीय संसद्मा प्रवेश गर्नुभएका खनाललाई नयाँ पुस्ताको आशाका रूपमा हेरिएको छ । अधिवक्तासमेत भएको हुँदा जनताको न्यायका लागि सदनमा सधैँ आवाज बुलन्द पार्ने अपेक्षा जनताले लिएका छन् ।