जनार्जन खत्री
सर्लाही, वैशाख ४ गते । मध्यपूर्वमा जारी द्वन्द्वका कारण डिजेलको मुल्य निरन्तर बढ्दा किसान मारमा परेका छन् । एक महिनाको अवधिमा डिजेलको मुल्य दोब्बरले वृद्धि हुँदा पम्पसेट चलाएर सिँचाइ गर्ने र ट्याक्टर लगाएर खेतबारी जोत्ने खर्च धान्नै नसक्ने अवस्था आएको किसानको गुनासो छ । सर्लाहीमा अहिले डिजेलको मूल्य प्रतिलिटर १३६ रुपियाँ पुगेको छ ।
जिल्लको चन्द्रनगर गाउँपालिका–२, बडकुर्बाका किसान रामजोबित महतोले हाइब्रिक मकैमा भर्खरै घोगा लागेकाले महँगो मूल्यको डिजेल हालेर निरन्तर सिँचाइ गरिरहनुपरेको गुनासो गर्नुभयो । १५ कठ्ठामा मकै खेती गर्नुभएका महतोले डिजेलको मूल्य वृद्धि भएसँगै आफूहरुले फलाएको कृषि उपजको पनि मूल्य वृद्धि हुनुपर्ने बताउनुभएको छ ।
“डिजेल जति नै महँगो भए पनि मकैको घोगा हरियो नै रहेकाले पप्पसेट चलाएर पानी पटाउनै पर्यो,” महतोले भन्नुभयो, “यस्तो महँगो इन्धन जलाएर किसानले फलाएको मकै र तरकारीको पनि मूल्य बढ्नुपर्छ ।” सर्लाहीसहित मधेश क्षेत्रमा अहिले चर्को घाम लाग्न थालेकाले मकै, तरकारीलगायतका बाली सुक्न नदिन बारम्बार सिँचाइ गर्नुपर्ने अवस्था रहेको किसानले बताएका छन् ।
डिजेल महँगो भएसँगै ट्याक्टरधनीले खेतबारी जोतेको पैसा पनि बढाएका छन् । गहुँ बाली भित्र्याइसकेको र बाँझो रहेको खेतबारीमा अहिले ट्याक्टरले जोतेर कतै चैते धान रोप्ने त कतै मकै छर्ने काम भइरहेको छ ।
ईश्वरपुर नगरपालिका–१०, बेलाका लक्ष्मीनारायण चौधरीले डिजेलको मूल्य अत्यधिक बढेसँगै ट्याक्टरले एक घण्टा जोतेको दुई हजार पाँच सय रुपियाँसम्म लिन थालेको गुनासो गर्नुभयो । किसानले यसअघि ट्याक्टरमार्फत खेतबारी जोताउँदा प्रतिघण्टा एक हजार चार सयदेखि एक हजार छ सय रुपियाँसम्म तिर्ने गरेका थिए ।
“इन्धनको मूल्यवृद्धिले त किसानलाई सारै गाह्रो पार्यो,” चौधरीले गुनासो गर्दै भन्नुभयो, “तेलको मूल्य त बढेको बढ्यै छ, तर किसानले फलाएको अन्नबालीको मूल्य पनि उहि नै हो ।” जिल्लामा नेपाल विद्युत प्राधिकरण र पालिकाहरुले धेरैजसो ठाउँमा कृषि विद्युतीकरण गरे पनि बिजुली नपुगेको ठाउँका किसान पम्पसेटकै भरमा सिँचाइ गर्न बाध्य रहेका छन् ।