गुणबहादुर रोका
सुलीकोट, चैत १२ गते । गोरखाको बेनीघाट–आरुघाट–लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका–३ मा पर्ने मनास्लु पदमार्गको तातोपानी खण्ड २४ घण्टाका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ।
उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिका जोड्ने लुसीराङको भीर क्षेत्रमा सडक मर्मत तथा निर्माण कार्य गर्नुपर्ने भएकाले चैत १६ गते साँझ ५ बजेदेखि १७ गते साँझ ५ बजेसम्म उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा बन्द गरिने भएको हो।
धार्चे गाउँपालिकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै तातोपानी नजिक भीर खोपेर मर्मत गर्नुपर्ने र कामका क्रममा जुनसुकै बेला ढुंगा खस्न सक्ने जोखिम भएकाले सवारी आवागमन रोक्नुपरेको जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले सुरक्षालाई ध्यानमा राख्दै सडक बन्द गर्नुपरेको बताउनुभयो।
उक्त अवधिभर चारपाङ्ग्रे तथा हेभी सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिनेछ। अत्यावश्यक काममा यात्रा गर्नुपर्ने सर्वसाधारण तथा आन्तरिक एवं बाह्य पर्यटकलाई वैकल्पिक मार्ग प्रयोग गर्न र समयमै यात्रा तालिका व्यवस्थापन गर्न उहाँले आग्रह गर्नुभएको छ।
यो सडकखण्ड उत्तरी गोरखाका स्थानीय बासिन्दाका लागि मुख्य आवागमन मार्गका रूपमा प्रयोग हुँदै आएको छ। सडक बन्द हुँदा दैनिक उपभोग्य सामग्री ढुवानी, यात्रु आवागमन तथा स्थानीय आर्थिक गतिविधिमा केही असहजता आउने भएकाले गाउँपालिकाले सूचनामार्फत क्षमासमेत मागेको छ।
निर्माण कार्य सुरक्षित र प्रभावकारी रूपमा सम्पन्न गर्न अस्थायी रूपमा सडक बन्द गर्न लागिएको उल्लेख गर्दै गाउँपालिकाले केही समय धैर्य गरी सहयोग गर्न सबैमा आग्रह गरेको छ।
निर्माण कार्य सम्पन्न भएपछि सडक पुनः पूर्ववत् रूपमा सञ्चालनमा ल्याइने गाउँपालिकाले जनाएको छ।