• १२ चैत २०८२, बिहिबार

क्षयरोगी परीक्षणमा नआउँदा समस्या

blog

विश्व क्षयरोग दिवसका अवसरमा आयोजित अन्तर्क्रियामा सहभागी सञ्चारकर्मी तथा सरोकारवाला । तस्बिर : केशवराज भट्ट

वासुलिङ समाचारदाता

वासुलिङ (बैतडी), चैत १२ गते । चालु आर्थिक वर्षमा बैतडीमा ८७ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन् भने तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार फेला परेकामध्ये ६६ जना पुरुष र २१ जना महिला रहेका छन् । सबै बिरामी नियमित रूपमा औषधी सेवन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा जिल्लामा २०३ जना क्षयरोगका बिरामी फेला परेका थिए भने आठ जनाको मृत्यु भएको थियो । चालु वर्षमा सङ्क्रमितको सङ्ख्या घटे पनि परीक्षणमा सहभागिता कम हुँदा चुनौती कायमै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सूचना अधिकारी कार्की भन्नुहुन्छ, “क्षयरोगका बिरामी परीक्षणमा नआउँदा समस्या हुने गरेको छ । शिविर सञ्चालन गर्दा पनि परीक्षणप्रति चासो नदेखिँदा रोग पहिचानमा कठिनाइ भइरहेको छ ।”

क्षयरोगीको पहिचानका लागि जिल्लामा विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेर अभियानलाई तीव्र पारिएको छ । हाल सुर्नया गाउँपालिका र पुर्चौडी नगरपालिकामा ‘क्षयरोगमुक्त पालिका अभियान’ सञ्चालनमा रहेको जनाइएको छ ।

यसैबिच विश्व क्षयरोग दिवसको अवसरमा मङ्गलबार स्वास्थ्य कार्यालय बैतडीले सञ्चारकर्मी तथा सरोकारवालासँग अन्तर्क्रिया आयोजना गरेको थियो । कार्यक्रममा क्षयरोगको समयमै पहिचान, उपचार र जनचेतना अभिवृद्धिमा जोड दिइएको थियो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा हरेक वर्ष करिब ६७ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेका छन् ।