चाँदनी आचार्य
घोडाघोडी (कैलाली), चैत १२ गते । सरसफाइ अभियन्ताका रूपमा चिनिँदै आउनुभएका केपी खनालको अब थप परिचय बनेको छ । गत फागुन २१ गते सम्पन्न निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट विजयी भएसँगै २६ वर्षीय खनालको परिचयमा प्रतिनिधि सभा सदस्य बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्नुभएका खनालले १९ हजार ५७ मत प्राप्त गर्नुभएको थियो । हाल कैलालीको क्षेत्र नं. २ कै लम्कीचुहा नगरपालिका–३ मा बसोबास गर्दै आउनुभएका खनाल अछामको रामारोशन गाउँपालिका–४, बाटुलासैनमा जन्मनुभएको थियो ।
नेपालमा सरसफाइ र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आउनुभएका खनालले चुनावी अभियानका क्रममा प्रत्येक जनताको घर आँगनमा पुगेर त्यहाँको समस्यालाई आफूले नजिकबाट बुझेको बताउनुहुन्छ । उहाँ आगामी दिनमा कृषि उत्पादनलाई बढावा दिँदै बेरोजगारी कम गर्ने नीति निर्माण नै आफ्नो प्रमुख लक्ष्य भएको बताउनुहुन्छ ।
खनाल भन्नुहुन्छ, “माटो परीक्षणका आधारमा उत्पादनलाई बढावा दिनु पर्छ । किसानलाई मल, बिउ, सिँचाइको सुविधा दिने विषयमा मेरो प्राथमिकता रहने छ । जनतालाई आश्वासन मात्र दिने होइन, जनतासँगै रहेर नीति निर्माण गर्ने कुरामा मेरो भूमिका हुने छ ।” तराई पहाडको माटो अनुसारको खेती प्रणाली विकास गर्न आवश्यक बिउबिजन, मल, सिँचाइको उपलब्धता, सहज कृषि सडक, यातायात र उत्पादनलाई बजारसँग जोड्नसकेमा बेरोजगार न्यूनीकरण गर्न सकिने उहाँको विश्वास छ । विशेष गरी युवा र महिलालाई सिपमा जोड्ने नीति र कार्यक्रम बनाउनुपर्ने उहाँको भनाइ छ ।
खनाल भन्नुहुन्छ, “गौरवका योजना अन्तर्गतका आयोजना पूरा गर्दै पर्यटनको प्रवर्धन र विकास गर्न सकेमा देशले समृद्धि हासिल गर्न सक्छ । देशले जति छिटो समृद्धि हासिल गर्छ त्यति नै छिटो खानेपानी, विद्युत्, स्वास्थ्य, शिक्षा, सामाजिक न्याय जस्ता आधारभूत सुविधा हरेक नागरिकसम्म पु¥याउन सकिन्छ । त्यसका लागि योजनाबद्ध रूपमा काम गर्नु पर्छ ।”
खनाल कक्षा १२ मा पढ्दै गर्दा १६ वर्षको उमेरदेखि सामाजिक कार्यमा सक्रिय हुन थाल्नुभयो । उहाँ बाजुरामा अनाथ बालबालिकाका लागि आश्रम निर्माणमा, दशा लागेकालाई दसैँ मनाउने कार्यमा, भोकै हुम्ला, म बदलिन्छु, मेरो देश बदलिन्छलगायतको अभियानमा सक्रिय हुनुभयो ।
विशेष गरेर ‘क्लिन काष्ठमण्डप’ सरसफाइ अभियानमार्फत काठमाडौँका विभिन्न सार्वजनिक स्थल, सडक र ऐतिहासिक स्थानमा सरसफाइ कार्यक्रम सञ्चालन गर्दै उहाँले युवालाई सामाजिक सेवामा सहभागी हुन प्रेरित गर्दै आउनुभयो ।
उहाँले सामाजिक कामलाई व्यवस्थित बनाउन उहाँले मैनादेवी फाउन्डेसन स्थापना गरेर देशका विभिन्न स्थानमा सरसफाइ, वातावरण संरक्षण र जनचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुहुन्छ । काठमाडौँमा सरसफाइ अभियानकै क्रममा काठमाडौँ महानगरपालिकामा तत्कालीन प्रमुख बालेन्द्र साहसँग नजिकिनुभएका खनाल विभिन्न अभियान सञ्चालन गर्दा राजनीतिक पहुँच खट्किने गरेको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “पहिला म कुनै पार्टी निकट थिएन र पनि अभियानका क्रममा विभिन्न नेतालाई भेट्दा राजनीतिक ट्याग लाग्थ्यो । भ्रष्टचारविरुद्ध र सुशासनको पक्षमा भएको जेनजी आन्दोलनपछि रास्वपासँग बालेन्द्र शाहको सम्झौता भयो । म शाह निकट थिएँ । त्यसैले म पनि रास्वपा प्रवेश गरेँ ।”
उहाँ जेनजी आन्दोलनपछि नै युवालाई राजनीतिमा आउने जागरण आएको उल्लेख गर्दै आन्दोलनको मर्मलाई बुझेर जवाफदेहिता र सुशासनको पक्षमा काम गर्ने बताउनुहुन्छ ।
प्रतिनिधि सभा सदस्य खनाललाई सामाजिक योगदानको कदर गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको छ । नेपाल सरकारले संविधान दिवसको अवसरमा उहाँलाई जनसेवाश्री पदकबाट सम्मानित गरेको छ भने भारतमा आयोजित कार्यक्रममा नेसनल युथ आइकन अवार्ड प्रदान गरिएको छ ।