शबरीको जन्म शबर जातको परिवारमा भएको हो । भारतको महानन्दी नदीको छेउको एउटा गाउँमा यिनको जन्म भएको हो । महानन्दी नदीलाई द्वापार युगमा कनकनन्दिनी पनि भनिन्थ्यो । यो वर्तमान समयमा भारतको छत्तीसगढमा पर्छ । शबर जाति त्यतिबेला पिछडिएको जाति मानिन्थ्यो । यो जाति सिकारी जातिका रूपमा प्रख्यात थियो ।
शबरीको उमेर बढ्दै गयो । यिनी विवाह गर्ने उमेरमा पुगेपछि यिनका पितामाताले योग्य वरको खोजी गरे । यिनको विवाह भव्य बनाउन भोजको व्यवस्था गरियो । त्यसका लागि धेरै जङ्गली जनावर र चराचुरुङ्गी ल्याइए । उनले आफ्नो विवाहका कारण यी सबै निर्दोष जनावर र चराचुरुङ्गी मर्ने भए भनेर चिन्ता गरिन् । राति भएपछि सबैलाई छाडिदिइन् । जीवनभर विवाह नगर्ने निश्चय गरिन् । शबरीले ती पशुपन्छीको बन्धन काटेर छाडिदिए । पशुपन्छीले शबरीलाई आशिष दिए ।
शबरी पनि राति नै भाग्ने निधो गरिन् । कुनै गाउँमा जाऊँ त फेरि पक्रने छन् भनी उनी कुनै जङ्गलतिर गइन् । आफू तल्लो जातको नारीलाई कसले स्वीकार्ला ? सन्तको सेवा नगरी जीवन कसरी मुक्त होला भनी गहिरो सोचमा परिन् । जङ्गलमा ऋषिहरूले नुहाउने पोखरीको छेउमा दाउरा जम्मा बनाएर राखिदिन थालिन् । त्यो दाउरा ऋषिले कुटीमा लगेर बाल्न पाउँथे । बाटाका फोहोर सफा गरिदिन थालिन् । यस्तो सेवा गर्ने को होला भनी ऋषिहरू आश्चर्यमा परे ।
त्यसरी सेवा गर्ने को होला भनी एक रात ऋषिले लुकेर हेर्न थाले । शबरीलाई त्यसरी राति राति काम गर्नुको उद्देश्य सोधे । शबरीको सेवाबाट मतङ्ग नामका ऋषि खुसी भए । उनले त्यस दिनपछि शबरीलाई कुटीकै छेउमा राखिदिए । अरू ऋषिले त्यस कामको विरोध गरे । मतङ्गले भने शबरीलाई नाममन्त्र र दीक्षामन्त्र पनि दिए । शबरी दिनदिनै गुरुको सेवा गर्दै गइन् । एक दिन आकाशवाणी भयो, “तपाईंले शबरीलाई आश्रय दिएर ठुलो काम गर्नुभयो । यस कर्मबाट भगवान् धेरै प्रसन्न हुनुभएको छ । त्यसैले तपाईंलाई लैजान अहिले विमान आउने छ । अब तपाईं सिधै भगवान्को धाम जानुहुने छ ।”
केही बेरमा विमान आयो । मतङ्ग ऋषि भगवान्को धाम जान उत्सुक भए तर यता शबरी रुन थालिन्, “हजुर जानुभएपछि त मेरो के हालत होला । म मर्न बेर छैन ।” मतङ्ग ऋषिले भने, “मेरो तपस्या र मन्त्र शक्तिका कारण यो अवसर आएको छ । म जान्छु । सुन, तिमीलाई दर्शन दिन विष्णु भगवान्ले मानव स्वरूप लिएर यहीँ आउनुहुने छ । चिन्ता नगरी यहीँ बस ।” मतङ्ग ऋषि विमानमा बसेर गए । गुरुले भने अनुसार भगवान् आएर दर्शन दिने आशामा शबरी त्यही कुटीमा बसिरहिन् ।
केही समयपछि भगवान् आउनुभयो । शबरीका बारेमा ऋषिहरूलाई सोध्नुभयो । उनीहरूले मतङ्ग ऋषिको आश्रमनजिक कुटीमा भएको बताए । राम पनि शबरीको दर्शन गर्न हतारिनुभयो । त्यसरी आएका भगवान्लाई शबरीले पाउमा ढोगिन् । भगवान् रामले शबरीको हात समातेर आफ्नो नजिक राख्नुभयो । शबरीले राम र लक्ष्मणको बयरको फलले राम्रो सत्कार गरिन् । भगवान् रामले शबरीले आफूलाई दिने बयर टोकेर मिठो मात्र राखेकी छन् भन्नु थाहा त पाउनुभएको थियो । आफ्नो परमभक्त भएका कारण शबरीप्रति रामको अति धेरै श्रद्धा थियो । त्यसैले जुठो नै भए पनि शबरीले दिएको बयर हाँसीहाँसी खानुभयो । उनलाई खुसी बनाउनुभयो ।
नजिकै रहेको पम्पा नामको पोखरीछेउ सुग्रिव छन् । उनले नै सीताका बारेमा सूचना दिनेछन् भनी शबरीले जानकारी दिइन् । त्यसभन्दा पहिले शबरीले रामलाई एकै छिन् त्यहीँ बस्न अनुरोध गरिन् । शबरीले ध्यान एकाग्र गरिन् । उनको शरीरमा योगका माध्यमबाट अग्नि उत्पन्न भयो । उनले राम भगवान्को सामु नै पाञ्चभौतिक (पृथ्वी, जल, तेज, वायु र आकाशले बनेको) शरीर त्याग गरेर भगवान्को धाममा गइन् ।