• २ असार २०८२, सोमबार

उनापानीमा लागेको आगो नियन्त्रणमा

blog

हुम्लाको सर्केगाड गाउँपालिका–३ उनापानीमा आगलागी भएको गाउँ । तस्बिरः नन्द सिंह

नन्द सिंह
रलिङ (हुम्ला), असार २ गते ।
सर्केगाड गाउँपालिका–३ को उनापानीमा लागेको आगो नियन्त्रणमा आएको छ । आइतबार राति ११ः३० बजे लागेको आगो सोमबार बिहान ६ः३० बजे नियन्त्रणमा आएको हो ।

आगलागी हुँदा २० वटा घर जलेका छन् । आगलागीबाट ८ घर जलेर पूर्ण रुपमा क्षति भएका छन् भने १२ घरमा अंशिक क्षति भएको सर्केगाड गाउँपालिका–३ उनापानीका वडाध्यक्ष अकिल कार्कीले बताउनुभयो ।

आगलागीबाट धनबहादुर रावत, जनक रावत, बृख रावत, पाले फडेरा, लालकौरा फडेरा, विजन फडेरा पूर्ण रुपमा, आशा फडेरा र प्रकाश फडेरासहितका ८ वटा घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । रामकृष्ण रावत, राजबहादुर रावत, जय रावत, अमृता कार्की, बिरजन फडेरा, चनबहादुर फडेरा, लखन फडेरा, चैना फडेरा, देवी थापा र सतरुपा रावतका १२ घरमा आंशिक क्षति भएको वडा अध्यक्ष कार्कीले बताउनुभयो ।

आगलागीबाट धनबहादुर रावतको घरमा भएको दुई लाख २० हजार नगदसमेत जलेको र अन्य घरमा भएका अन्नपात, भाडाकुडा, लत्ताकपडा लिउ फेरुवा, नागरीकता, घरको लालपुर्जा, अन्य कागजातसहित घरमा भएको नगद रुपियाँ जलेर नष्ट भएको वडा अध्यक्ष कार्कीले बताउनुभयो ।

आगलागी भएको सूचना पाएपछि सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वको प्रहरी टोली राति २ बजे घटनास्थलमा पुगेको भए पनि प्रहरी र स्थानीयको सहयोगले अहिले बिहान मात्रै आगो नियन्त्रण भएको प्रहरी नायब उपरिक्षक शङ्कर पोखरेलले बताउनुभयो ।

डिएसपी पोखरेलका अनुसार आगलागी हुँदा केही समयदेखि मानिस र पशुवस्तु लेखमा रहेकाले मानविय र पशुवस्तुको कुनै क्षति नभए पनि अरु भौतिक क्षति ठुलै भएको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

आगलागी पीडितलाई गाँस, बास र कपासको व्यवस्थाका गर्न तत्काल वडा अध्यक्षलाई जिम्मा दिएको र आफुले सर्केगाड गाउँपालिकालाई राहतको व्यवस्था मिलाउन पहल गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । यसका लागि प्रदेश र संघिय सरकारलाई पनि पहलकदमी हुने प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाइ छ ।