टुँडिखेलमा भूम्या नाँच (फोटो फिचर)
काठमाडौँ, असार २ गते । मगर समुदायको भूम्या (भूमे) पर्व आइतबारबाट सुरु भएको छ । भूमिको पूजा गरी मनाइने यो पर्व रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले जेठ मसान्तदेखि असार ५ गतेसम्म मनाउने गर्छन् भने काठमाडौँमा ३ गतेसम्म मनाइन्छ । नेपाल मगर सङ्घले काठमाडौँमा भूम्याको आयोजनामा विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउन सुरु गरिएको हो ।
मगर समुदायले प्राकृतिक प्रकोपहरू नलागोस्, अन्न उब्जनी राम्रो होस्, रोगब्याधी नलागोस् भनी आफू बसोवास गर्ने भूमिको पूजा गरी यो पर्व मनाउँछन् । राप्ती अञ्चलको रोल्पा, रुकुम, प्युठान, सल्यान, दाङ र धौलागिरि अञ्चलको बागलुङ, म्याग्दी जिल्लाका मगर समुदायले भूमे पर्व विशेष महत्त्वका साथ मनाइन्छ ।
जेठ मसान्तमा गाउँमा भूम्याको उद्घाटन भएपछि युवा र बुढापाकाहरू बाजा बजाउँदै उच्च पहाडमा बुकी फूल टिप्न जान्छन् । यसरी जाँदा एकै दिनमा पुग्न नसकिने भएकाले बीच बाटोमा बास बसेर भोलिपल्ट फूल लिएर फर्कने चलन छ । पहाडबाट ल्याएको फूल एक अर्कालाई लगाएर खुशियाली मनाइन्छ ।