• १३ साउन २०८१, आइतबार

भेडेटारमा स्काई वाक सुरु

blog

कविराज घिमिरे 

हिले, साउन १३ गते । पूर्वकै चर्चित पर्यटकीय क्षेत्र भेडेटारमा स्काई वाक अर्थात् सिसाको पुल सञ्चालनमा आएको छ । चाल्र्स पोइन्टमा ‘स्काई वाक टावर’ सञ्चालनमा आएको हो । भेडेटारलाई साहसिक पर्यटनको ‘हब’ बनाउने प्रयास अनुसार टावर सञ्चालनमा ल्याइएको बताइएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काई वाकको उद्घाटन गर्दै भेडेटारलाई पर्यटकीय हब बनाउन स्काई वाकले थप सहयोग र आकर्षण बढाउने बताउनुभयो । 

प्रदेश सरकारले आगामी २०८२ साललाई पर्यटन वर्ष मनाउन लागेकाले भेडेटारमा बनेको स्काई वाकले त्यसलाई सहयोग पुग्ने अपेक्षा उहाँले राख्नुभयो । ११ रोपनीमा रहेको स्काई वाकमा ४१ मिटर लामो सिसामा हिँड्न सकिन्छ । योसँगै करिब १८ मिटर अग्लो टावरसमेत निर्माण गरिएको वन्डर्स एम्युजमेन्ट पार्क प्रालि कार्यकारी निर्देशक सञ्जीव रोक्काले जानकारी दिनुभयो । सिसामाथि हिँड्ने साहसिक खेलको मज्जा लिनका लागि देशकै तेस्रो गन्तव्य भेडेटार बनेको छ । 

यसअघि काठमाडौँको कमलादी, इलामको कन्याममा वन्डर्स एम्युजमेन्ट पार्क प्रालिले स्काई वाक सञ्चालनमा ल्याइसकेको छ । यस स्काई वाकमा एक पटकमा २५ जनासम्म हिँड्न सकिने क्षमता छ । साँगुरीगढी गाउँपालिकाले साहसिक पर्यटकका लागि नयाँ गन्तव्य थपिएको जनाएको छ । यो पूर्वको पर्यटनका लागि नयाँ आयाम भएको पालिका अध्यक्ष जितेन्द्र राईले बताउनुभयो ।

सिसामाथि हिँड्दा खुला आकाशमाथि हिँडे जस्तो अनुभव हुने र साहसिक पर्यटनका पारखीले यसमा मज्जा लिन सक्ने बताइएको छ । लामो समयदेखि खस्किएको पर्यटन व्यवसायमा स्काई वाकका कारण सुधार हुने अपेक्षा गरिएको भेडेटारका पर्यटन व्यवसायी रमेश श्रेष्ठ बताउनुहुन्छ ।

यो कोशी प्रदेशकै पहिलो निजी तथा सार्वजनिक साझेदारी मोडलको आयोजना भएको बताइन्छ । चार वर्षअघिदेखि निर्माण थालिएको स्काई वाक प्रदेश लगानी प्राधिकरण, धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाको समन्वयमा वन्डर्स एम्युजमेन्ट पार्क प्रालिले २० करोड लगानीमा निर्माण गरेको हो । स्काई वाकको आम्दानीको ४० प्रतिशतमध्ये ५५ प्रतिशत साँगुरीगढी गाउँपालिका र ४५ प्रतिशत धरान उपमहानगरपालिका तथा प्रदेश सरकारले पाँच प्रतिशत पाउने छन् ।