• १३ साउन २०८१, आइतबार

प्रजातन्त्रका अथक योद्धा

blog

नेपालको प्रजातान्त्रिक आन्दोलनमा धेरै योद्धाको योगदान छ तर तिनलाई कसैले सम्झँदैन । नयाँ पुस्तालाई सात सालको जनक्रान्तिदेखि छयालीस सालको जनआन्दोलनमा लडेका, ज्यान गुमाएका तथा सहादत प्राप्त गरेका योद्धाबारे थाहा नहुनु स्वाभाविकै हो । त्यहीमध्ये एक अथक योद्धा रामेश्वरप्रसाद सिंह हुनुहुन्थ्यो ।

उहाँको जन्म सप्तरीको कोइलाडी बरसाइन गाउँमा प्रसिद्ध जमिनदार सुब्बा सत्यनारायण सिंहको पुत्रका रूपमा १९६७ मङ्सिर १७ गते भएको थियो भने निधन २०३६ साल साउन १३ गते भएको थियो । उहाँको शिक्षादीक्षा भारत विहारको प्रख्यात विलियम हाइस्कुल, सुपौलमा भएको थियो । त्यति बेला अङ्ग्रेज शासनको विरोधमा भारतमा महात्मा गान्धी तथा लोकमान्य तिलकको नेतृत्वमा आन्दोलन सुरु भएको थियो । रामेश्वर बाबु त्यस आन्दोलनबाट निकै प्रभावित हुनुभएको थियो खास गरी लोकमान्य तिलकको नीतिबाट ।

सन् १९४२ को अङ्ग्रेजविरुद्ध महात्मा गान्धीको नेतृत्वमा भएको भारत छोडो आन्दोलनताका हजारीबाग जेल तोडी नेपालको सप्तरी, कोइलाडी बरसाइनस्थित रामेश्वर बाबुको घरमा प्रसिद्ध समाजवादी नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, सुरजनारायण सिंह, नित्यानन्द सिंह, गुलावी गुप्तालगायत नेता आए । रामेश्वर बाबुले उहाँहरूलाई भूमिगत रूपमा आश्रय दिनुभयो । त्यो भन्दाअघि नै अङ्ग्रेज सरकारद्वारा पक्राउ हुने डरले बिहारका सुपौल, सहर्षातिरको क्रान्तिकारी कार्तिकप्रसाद सिंहको नेतृत्वमा दर्जनौँ क्रान्तिकारी उहाँको घरमा आश्रय लिन आइपुगेका थिए ।

रामेश्वर बाबुले भारतीय क्रान्तिकारीहरूलाई केही महिना आफ्नो घरमा आश्रय दिई भूमिगत राखे । पछि राणा शासकले अङ्ग्रेज सरकारको दबाबमा खोजबिन गर्न थाल्यो । यसबाट बच्न रामेश्वर बाबुले कोसीपारि कुशहाको बक्राटप्पुमा रहेको जमिनदारी कामतमा फुसको नयाँ घर बनाई जयप्रकाश नारायण, डा. राममनोहर लोहियालगायतका एक समूहलाई बस्न पठाए । अर्को समूहलाई सप्तरीको पश्चिमी भेग कुशहा नजिक सुरुङास्थित चुरे जङ्गलमा पठाए जहाँ सरदार नित्यानन्द सिंह र गुलावी गुप्ता सोनारको नेतृत्वमा गुरिल्ला युद्धको प्रशिक्षण दिन थाले । त्यहाँ आजाद दस्ता गठन गरे । त्यहाँबाट बेतारको तार जोडी भारतीय क्रान्तिकारीहरूसित संवाद आदानप्रदान गर्थे ।

यसैबिच राणा शासकले आफ्ना सुराकीद्वारा कोशीपारि भूमिगत रूपमा बसिरहेको भारतीय नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, डा. वैद्यनाथ झा, विजया पट्टवर्धनहरूलाई सेनाद्वारा पक्राउ गराई तत्कालीन सप्तरी जिल्लाको सदरमुकाम हनुमाननगर जेलमा थुनियो । यो कुरा पूरै सप्तरीमा आगोझैँ फैलियो । सप्तरीका जनता ती भारतीय नेताहरूलाई जेलबाट निकाल्न योजना बनाउन लागे । उता सप्तरीको पश्चिमी भेग कुशहा सुरुङ्गा जङ्गलमा गुरिल्ला युद्धको प्रशिक्षणमा संलग्न जवानहरू रातारात रामेश्वर बाबुको घरमा आइपुगे । उहाँको निर्देशनमा स्थानीय व्यक्ति तथा गिरफ्तारबाट बचेका भारतीय क्रान्तिकारी जवानहरूको उपस्थितिमा बैठक बस्यो । हनुमाननगर जेलमा थुनिएका भारतीय नेताहरूलाई कसरी निकाल्ने भनी योजना बनाए । रामेश्वर बाबुले आफ्नो भतिजो तारिणीप्रसाद सिंहको नेतृत्वमा एउटा समूह जेलमाथि आव्रmमण गर्न पठाए । त्यस समूहमा सरदार नित्यानन्द सिंह, सुरजनारायण सिंह, गुलावी सोनारहरू थिए । तिनीहरूले रातारात नै हनुमाननगर जेल तथा गोश्वारामाथि अन्धाधुन्ध गोली फायरिङ गरे । दुई जना सुरक्षाकर्मीको घटनास्थलमै मृत्यु भयो । त्यहाँ रहेका आकाशवाणी फोनका तार काटियो । ती व्रmान्तिकारी भारतीय नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहियाहरूलाई जेल तोडी निकाल्न सफल भए । उहाँहरूलाई रातारात नै नावबाट कोशी पार गरी भारततिर पठाए ।

यसरी भारतीय स्वतन्त्रता आन्दोलनमा रामेश्वर बाबुको योगदान त छँदै थियो । त्यसपश्चात् नेपालमा एकतन्त्रीय राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले बिपी कोइरालाको नेतृत्वमा २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भई त्यसको अधिवेशनमा भाग लिन सप्तरीको डेलिगेसनको नेतृत्व गरी जानुभएको थियो । त्यति मात्र नभई २००४ सालमा दरभङ्गामा भएको अधिवेशनमा उहाँले पूर्ण खर्च बेहोर्नुभएको थियो । राम्रो सम्बन्ध रहेकाले उहाँको बरसाइनस्थित गाउँमा बिपी आइरहनुहुन्थ्यो । २००७ सालको जनक्रान्तिमा ठुलो धनराशि सहयोग गर्नु भई क्रान्तिमा लाग्नुभएको थियो । २०१५ सालमा उहाँलाई आफ्नो सप्तरी क्षेत्र नं. ३६ बाट सांसदको टिकट नदिई सिरहा लहान क्षेत्रबाट दिइयो तर दुर्भाग्यवश केही मतले पराजित हुनुभयो ।

२०१७ पुस १ गते जननिर्वाचित सरकारविरुद्ध राजा महेन्द्रले सैनिक ‘कु’ द्वारा विघटन गरी तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालगायत सबै मन्त्री, सांसद र नेतालाई गिरफ्तार गरी जेल हालियो । त्यति मात्र नभई सात सालको जनक्रान्तिबाट प्राप्त संसदीय प्रजातन्त्रको हत्या गरी निरङ्कुश निर्दलीय पञ्चायती व्यवस्था लादियो । यसविरुद्ध नेपाली कांग्रेसले भारत प्रवासबाट निरङ्कुश पञ्चायती व्यवस्था समाप्त गरी पुनः प्रजातन्त्र स्थापनार्थ सशस्त्र क्रान्ति गरे । रामेश्वर बाबु पनि प्रवासमा गई प्रजातन्त्र स्थापनाका लागि सशस्त्र व्रmान्तिमा लाग्नुभयो । त्यसको आरोपमा राजा महेन्द्रले सर्वस्वहरण गरे । प्रवासमा निकै दुःख कष्ट सहन गरी २०१५ सालमा तत्कालीन पार्टीका कावा सभापति सुवर्णशमशेरको वक्तव्यपछि राजाले आममाफी दिएपछि आठ वर्षको प्रवासपछि २०२६ सालमा उहाँ स्वदेश प्रवेश गर्नुभयो ।

२०३६ जेठ १० को जनमत सङ्ग्रह घोषणा हुँदा अत्यन्त नै खुसी हुनुभएको थियो र शारीरिक अस्वस्थताका बाबजुद बहुदलको आमसभामा जाने गर्नुहुन्थ्यो । त्यसको केही महिनापछि नै उहाँको दुःखद निधन भयो । उहाँको निधनमा कोइरालाले दुःख व्यक्त गर्नुभएको थियो । जनआन्दोलन प्रजातन्त्र देख्न सक्नुभएन तर उहाँ जस्तो प्रजातन्त्र सेनानीहरूले सङ्घर्ष गरेर ल्याएको प्रजातन्त्र हामीले उपभोग गरिरहेका छौँ । प्रजातन्त्र पुनस्र्थापनापछि कांग्रेसको नेतृत्वमा पटक–पटक सरकार गठन भएको छ तर उहाँको योगदानबारे चर्चा भएको छैन । वर्तमान कांग्रेससहितको संयुक्त सरकारलाई उहाँको सम्मान र सम्झनामा काम गर्न पङ्क्तिकार आग्रह गर्छ । 

साथै तराईका धेरै नेताले नेपाली प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएको सहादत दिए, कतिको सर्वस्वहरण भयो तर न कुनै अभिलेख राखेको छ न त कुनै मूल्य २०४६ सालपछि कांग्रेसमा आएका व्यक्ति र तिनीहरूलाई पुरानो पुस्ताका नेताबारे थाहा छ तर नेतृत्वमा बसेकाले पुरानालाई नसम्झनु दुःखको कुरा भएको छ । यतिसम्म कि सप्तरी जिल्ला कांग्रेसले उहाँको सम्झनामा कुनै कार्यक्रम गर्दैनन् । जबकि उहाँ २००७ साल अघि र पछि पनि सभापति भई नेतृत्व गरिसक्नु भएको छ । पार्टीमा उहाँले पुर्याउनु भएको योगदान अविस्मरणीय छ । 

Author

रामनारायण देव