• २१ असार २०८२, शनिबार

पक्राउ पुर्जी जारी भएपछि जसपा मधेश प्रदेशका अध्यक्ष यादव फरार

blog

जसपा मधेश प्रदेशका अध्यक्ष अशोकुमार यादव । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, असार २१ गते ।
सर्लाही जिल्ला अदालतले आफूलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेपछि जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोककुमार यादव फरार हुनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कासँग गालीगलौचमा उत्रनुभएका यादवलाई जिल्ला अदालतले शुक्रबार आपराधिक उपद्रो कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो । अदालतले पक्राउ गर्न अनुमति प्रदान गरेलगत्तै प्रहरीले कविलासी नगरपालिका–१०, सलेमपुरका यादवको खोजी गरिरहेको छ ।

सर्लाही प्रहरीका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले शनिबार बिहानसम्म यादव पक्राउ नपरेका बताउनुभयो । यादवको खोजीमा प्रहरी तैनाथ भइरहेको डिएसपी राईको भनाइ छ ।

पूर्व मधेश प्रदेशसभा सदस्य समेत रहेका यादवलाई पक्राउ गर्न भन्दै प्रहरीले सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रहरी कार्यालयमा जिल्लाका विभिन्न युनिटबाट थप मद्दतमा ठुलो सङ्ख्यामा प्रहरी जम्मा पारेको छ । जिल्ला प्रहरी प्रमुखसँग गालीगलौचमा उत्रिएपछि बिहीबार मध्यराति नै यादवलाई पक्राउ गर्न जाँदा उहाँका समर्थकले प्रहरीको गाडी तोडफोड र अवरोध गरेकाले पनि यादवलाई पक्राउ गर्नुपूर्व नै उच्च सुरक्षा सावधानी अपनाइएको हो ।

जसपा प्रदेश अध्यक्ष यादव र सर्लाही प्रहरी प्रमुख खड्काबिच टेलिफोनमा भएको बाझाबाझ अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भाइरल छ । यादव र एसपी खड्काबिच बिहीबार राति टेलिफोनमा गालीगलौच भएको थियो ।

आर्थिक चलखेल गर्ने सदरमुकाम मलङ्गवास्थित पूर्वाधार विकास कार्यालयमा उल्टै प्रहरी तैनाथ गरेर सेवा प्रवाह गरिएकोप्रति जसपा मधेश प्रदेश अध्यक्ष यादवले एसपी खड्कालाई टेलिफोन गरेर आपत्ति जनाउनुभएको थियो । कुराकानीमा यादवले पूर्वाधार विकास कार्यालयमा आर्थिक वर्षको अन्तिममा अनियमित ढङ्गले काम भइरहेको र त्यसमा प्रहरीले सुरक्षा दिएर गलत गरेको एसपी खड्कासँग भन्नुभएको थियो । 

कुराकानीकै क्रममा यादवले एसपी खड्कालाई ‘तिमीहरु लुटेरा, मधेशमा कमाउन भनेर आएको’ भनेको सुनिन्छ । त्यसपछि जसपाका प्रदेश अध्यक्ष यादव र एसपी खड्काबिच अपशब्द प्रयोग गर्दै बाझाबाझ गरेको टेलिफोन अडियो अहिले यत्रतत्र भाइरल बनेको हो ।

असार १२ गते पूर्वाधार विकास कार्यालय मलङ्गवामा केही व्यक्ति आएर विभिन्न योजनाको फाइल खोसेर लगेपछि प्रहरी परिचालन हुँदै आएका थिए । जसपाका मधेश प्रदेश अध्यक्ष यादवकै नेतृत्वमा फाइल खोसेर लगिएको आरोप लागेको छ । 
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राईका अनुसार १२ गतेको घटनापछि असार १३ गतेदेखि पूर्वाधार विकास कार्यालयमा निरन्तर प्रहरी तैनाथ गर्ने गरिएको छ । पूर्वाधार विकास कार्यालय मलङ्गवामा योजना बिक्री, योजनाको रकम भुक्तानीलगायत काममा व्यापक आर्थिक चलखेल हुने गरेको गुनासो व्यापक रुपमा आइरहेकै छ ।  

आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि यादवले शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै आम जनताको गुनासो र आवाजलाई सम्बोधन गर्न खोज्दा उल्टै आफूलाई फसाउन खोजिएको गुनासो पोख्नुभएको थियो । उहाँले पूर्वाधार कार्यालयका प्रमुख विजय यादव दिनभर रौतहटको चन्द्रनिगाहपुरमा बस्ने गरेको र राति कार्यालयमा आएर अनियमित हिसाबले चेक काट्ने काम गरिरहेको प्रति आपत्ति जनाउँदा प्रहरी प्रशासन नै आफूविरुद्ध लागेको आरोप लगाउनुभएको छ ।

यादवको पार्टी जसपा सर्लाहीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी प्रशासनले पार्टीका प्रदेश अध्यक्ष यादवमाथि दुर्व्यहार गरेको र मध्यराति डाका शैलीमा प्रहरी घरभित्र प्रवेश गरेको आरोप लगाएको छ । जसपा सर्लाहीका अध्यक्ष शम्भुप्रसाद यादवले हस्ताक्षर गरी जारी गर्नुभएको प्रेस विज्ञप्तिमा गल्ती गर्ने प्रहरी प्रमुखले माफी माग्नुपर्ने माग राखेको छ ।