• २१ असार २०८२, शनिबार

नगर प्रमुख पौडेलको कार्यशैलीप्रति विरोध, अनियमिततामा सम्लग्न रहेको आरोप

blog

इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल

सचिन पोख्रेल
इटहरी, असार २१ गते ।
इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलको कार्यशैली र आर्थिक अपारदर्शिताप्रति व्यापक विरोध चुलिँदै गएको छ । नेपाली कांग्रेसबाट निर्वाचित प्रमुख पौडेल अहिले प्रतिपक्षी दलहरूको निशानामा मात्र होइन, उहाँ आवद्ध पार्टीभित्र पनि चर्को असन्तुष्टि र आलोचना सुरु भएको छ । यस बाहेक स्थानीय सञ्चारकर्मी तथा पत्रकार, नागरिक समाज र सर्वसाधारणसमेतले प्रमुख पौडेलको कार्यशैलीको विरोध गर्दै उहाँ व्यापक आर्थिक अनियमितता र भ्रष्टाचारका गतिविधिमा प्रत्यक्ष जोडिएको आरोप लगाएका छन् । पछिल्लो समय सामाजिक सञ्जालमार्फत पनि उहाँको चर्को विरोध र आलोचना भइरहेको छ ।

विभिन्न आर्थिक अनियमितता र भ्रष्टाचारको घटनामा उहाँको सम्लग्नता रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्दीय कार्यालय र इटहरी कार्यालयमा उहाँले बयान दिएको र उहाँविरुद्ध परेको उजुरुमाथि सुक्ष्म अनुसन्धान भइरहेको अवस्थामा इटहरीका प्रमुख पौडेलको स्थानीय स्तरमा चर्को आलोचना र विरोध भइरहेको हो ।

प्रमुख पौडेलले स्थानीय सञ्चारकर्मी तथा पत्रकारहरूमाथि विभिन्न किसिमका आरोप–प्रत्यारोप लगाउँदै समग्र पत्रकारिता क्षेत्रको बदनाम गर्न खोजेपछि नेपाल पत्रकार महासङ्घ सुनसरीले प्रेस विज्ञप्ति नै जारी गर्दै उहाँको कार्यशैली र रबैयाको विरोध जनाएको छ । प्रमुख पौडेलले भोलि कुन विषयमा समाचार आउछ भनेर आफुहरूलाई अघिल्लो दिन नै थाहा हुने र केही दानापनी झार्ने प्रयास गर्ने अनि पछि लाजका कारण त्यो समाचार प्रकाशन प्रसारण गर्ने विचित्रको पत्रिकारिता इटहरीमा रहेको भन्दै सामाजिक सञ्जालमा राखेको स्टाटसप्रति महासङ्घले कडा आपत्ति जनाउँदै यदी त्यस्तो कसैले गरेको भए प्रमाणित गर्न चुनौति दिनुभएको छ । महासङ्घ सुनसरीका सचिव विनय बाराकोटीद्वारा जारी विज्ञप्तिमा समगै पत्रकारिता क्षेत्रलाई नै बदनाम गर्ने गरी गम्भीर विषयलाई अपुष्ट ढङ्गले प्रस्तुत गर्नु नगर प्रमुख पौडेलको पदीय मर्यादा विपरित भएको ठहर गर्दै महासङ्घले उहाँप्रति खेद व्यक्त गरेको छ ।

शुक्रबार अपराह्न जारी गरेको विज्ञप्तीमार्फत महासङ्घले प्रेस स्वतन्त्रताको खिलाफमा पौडेलले दिएको अभिव्यक्तीको घोर भत्सर्नासमेत गरेको छ ।

यस सन्दर्भमा इटहरीका अधिकांश सञ्चारकर्मी तथा पत्रकारहरूले सामाजिक सञ्जालमार्फत नगर प्रमुख पौडेललाई इटहरी उपमहानगरपालिका भित्र व्यापक वेथिति र विकृति , अनियमितता र भ्रष्टाचार बढेको, आर्थिक अपारदर्शिता रहेको र त्यसमा उहाँको प्रत्यक्ष सम्लग्नता रहेको बताउदै तत्काल पत्रकार सम्मेलन गरी र सञ्चार माध्यममा अन्तर्वार्ता दिएर मिडिया फेस गर्न चुनौती दिएका छन् । तर नगर प्रमुख पौडेलसँग सम्पर्क हुन सकेको छैन ।

त्यसैगरी, पौडेलले प्रतिनिधित्व गर्ने दल नेपाली कांग्रेसभित्रैका स्थानीय अग्रज नेता र कार्यकर्ताहरूले अनौपचारिक बैठक गर्दै  उहाँको अपारदर्शी, गैरजवाफदेही र अनियमित कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् । कांग्रेसकै नेताहरूले इटहरी उपमहानगरलाई आर्थिक दृष्टिले टाट पल्टाउने गरी पौडेलले निर्णयहरू लिएको भन्दै छानबिनको मागसमेत गरेका छन् । अख्तिायारमा पौडेलविरुद्ध परेको उजुरीको क्रममा उहाँको बयान लिने काम सम्पन्न गरिसकेको सन्दर्भमा निष्पक्ष र सुक्ष्म छानबिनका लागि पनि अग्रज नेताहरूको माग रहेको छ ।

इटहरी उपमहानगरपालिकाको तर्फबाट सार्वजनिक यातायातका लागि खरिद गरिएको बस प्रकरणमा झन्डै डेढ करोड रुपियाँ बराबरको भ्रष्टाचार भएको आरोप उहाँमाथि लाग्दै आएको छ । यस सन्दर्भमा समेत अख्तियारमा पौडेलले बयान दिइसक्नुभएको छ । यस बाहेक अनियमित रूपमा अनावश्यक कर्मचारी पदपूर्ति गरेको, कार्यालयका अन्य बेथिति र अनियमितताका सन्दर्भमा पनि प्रमुख पौडेलको विरुद्ध अख्तियारमा उजुरी परेको छ ।

यस बाहेक महालेखा परीक्षकको प्रतिवेदनले समेत इटहरी उपमहानगरको आर्थिक अनियमितता र अपारदर्शिताको जिकिर गरेको छ । प्रतिवेदनमा नगरपालिकाको खर्च विनियोजनमा गम्भीर त्रुटिहरू देखिएको, बजेट प्रयोगमा पूर्वाधारविहीन निर्णय भएको तथा सार्वजनिक खरिद ऐनको समेत उल्लङ्घन भएको उल्लेख गर्दै एक अर्ब २६  करोड रुपियाँ बरुजु देखाएको छ । गत असार ९ गते नगर कार्यपालिकाको बैठकमा प्रत्यक्ष प्रशारण भइरहेको समयमा प्रमुख पौडेलले आफ्नो कार्यकालमा केबल दस करोडमात्र भएको र अघिल्लो जनप्रतिनिधिको बेरुजु एक अर्ब दस करोड भनि झुठो अभिव्यक्ति दिएको विषयमा पनि अहिले उहाँको चर्को आलोचना भइरहेका छ । जबकी मलेपको प्रतिवेदन अनुसार यस वर्षको बेरुजु १६ करोड ५० लाख र अघिल्लो वर्षको बेरुजु २१ करोड ५० लाख गरी उहाँके कार्यकालमा ३८ करोड बेरुजु रहेको प्रमाणित भएको छ ।

प्रमुख पौडेलको कार्यशैलीको विरोध अब दलगत राजनीतिभन्दा बाहिर पुगिसकेको छ । एमाले, माओवादी, राप्रपालगायतका दलहरूबाट सार्वजनिक रूपमा आलोचना भइरहेकै बेला उहाँ आवद्ध नेपाली कांग्रेसभित्रको असन्तोषले थप सशक्त बनाएको छ । केही समय अघि नागरिक समाज इटहरीका अध्यक्ष राजकुमार राइको नेतृत्वमा रहेको समाजका उच्च पदाधिकारी र स्थानीय बुद्धिजिवीसमेतको टोलीले प्रमुख पौडेललाइ भेटेर इटहरी उपमहानगरपालिका आर्थिक हिसाबले निकै कमजोर भएको, उहाँका काम पारदर्शी नभएको, अनावश्यक रूपमा कर्मचारी भर्ति केन्द्र बनाएको, आर्थिक अनियमितता र भ्रष्टाचार बढेको भन्दै ज्ञापनपत्रसमेत बुझाएको समाजका अध्यक्ष राईले जानकारी दिनुभयो ।  

‘‘सामाजिक सञ्जालमा नागरिकहरू खुलेरै प्रश्न गर्न थालेका छन्,’’ उहाँले भन्नुभयो, “इटहरीको मेयरले नगरलाई डुबाउने हो कि उठाउने?“

इटहरीमा यसरी प्रमुख पौडेलको कार्यशैली, आर्थिक अपारदर्शिता, अनियमितता, भ्रष्टाचार लगायत विभिन्न विकृति र विसङ्गतिका सन्दर्भमा कुरा गर्न खोज्दा उहाँले समय दिनुभएन । यस सम्बन्धमा नगर प्रमुख पौडेलका प्रेस संयोजक धनबहादुर पुरीले उहासँग आफ्नो पनि नियमित भेट नभएको, तर सामाजिक सञ्जाल लगायतमा उहाँको विरोध र आलोचना गरेको देखिएको बताउनुभयो ।

इटहरी उपमहानगरपालिकाका प्रवक्ता दिवश पोख्रेलले नगर प्रमुख पौडेलको गतिविधि र कार्यशैलीमाथि नेपाली कांग्रेस, अन्य दल, नागरिक समाज र स्थानीय स्तरमामात्र नभइ आन्तरिक रूपमा नगरपालिकाको कार्यपालिका समिति र कर्मचारी संयन्त्र भित्र पनि चर्चा भइरहेको बताउनुभयो । उहाँले यस विषयमा नगर प्रमुख पौडेलसँग भेटेर आफ्नो पक्षबाट समन्वय र सहजीकरण गर्ने पनि बताउनुभयो ।