• २१ असार २०८२, शनिबार

'सांसदलाई सवाल'को ५० औँ शृङ्खलामा सभामुखसँग विशेष कुराकानी

‘सत्ता र प्रतिपक्ष सभामुखको दृष्टिमा समान हुन्’

blog

काठमाडौँ, साउन २१ गते। सभामुख देवराज घिमिरेले सभामुखको दृष्टिमा सत्ता र प्रतिपक्ष समान हुने बताउनुभएको छ । गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’को ५० औँ शृङ्खलामा विशेष कुराकानी गर्नुहुँदै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो,"सत्ता र प्रतिपक्षी सभामुखको दृष्टिमा समान हुन् । तर सत्ताले चाहेको भएन भने प्रतिपक्षलाई साथ दिएको भनेर हेरिन्छ । प्रतिपक्षले चाहेको जस्तो भएन भने सत्तालाई साथ दियो भन्ने हुन्छ । यो आफैँमा पनि त्यस्ता खालका अपजस आउने ठाउँ हो । तर म के सचेत छु भने यहाँ सभामुखको भूमिकामा निष्पक्ष भएर जानुपर्छ ।"  

त्यसैगरी उहाँले प्रतिनिधि सभाको बैठकबाट बहुमतले पारित निजामती सेवा विधेयक-२०८० सच्याउने ठाउँ रहेको बताउनुभएको छ । सभामुख घिमिरेले भन्नुभयो, "निजामती विधेयक बिग्रिएको भए सच्याउने ठाउँ छ।’’ सभामुख घिमिरेले विधेयक पारित गर्ने सन्दर्भमा दफा मिलाउँदा केही ध्यान नपुगेको कुरा उठेकाले कमिकमजोरी भए सच्याउने ठाउँ रहेको बताउनुभएको हो। 


सभामुख घिमिरेको जन्म २०१३ साल जेठ १३ गते ताप्लेजुङको सिकैचामा बुवा पदमप्रसाद र आमा भीमकुमारीको कोखबाट भएको हो। अहिले उक्त क्षेत्र सिरिजङ्गा गाउँपालिका–३ मा पर्छ। बाल्यकाल ताप्लेजुङमै बिताउनुभएका घिमिरेले २०२९ सालमा ताप्लेजुङको भानु पब्लिक हाई स्कुलबाट एसएलसी उतीर्ण गर्नुभएको हो। एसएलसी उतीर्ण भएपछि उहाँ उच्च शिक्षाका लागि सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस पुग्नुभयो। त्यहाँबाट आइए पढ्नुभयो। घिमिरेको परिवार ताप्लेजुङबाट झापा बसाइँ सरेको देखिन्छ। उहाँको स्थायी ठेगाना झापा जिल्लाको अर्जुनधारा नगरपालिका–६, प्रगति टोल हो। उहाँ काठमाडौँमा भने कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा बसोवास गर्दै आउनुभएको छ। 

आइएसम्मको अध्ययनपछि घिमिरेले लगातार राजनीतिक आन्दोलनमा होमिनुभएको देखिन्छ। उहाँ २०३१ सालदेखि नै कम्युनिस्ट राजनीतिमा सक्रिय हुनुहुन्छ। तत्कालीन अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन केन्द्रमा आबद्ध भएर उहाँ २०३२ साल माघदेखि राजनीतिमा सक्रिय हुनुभएको हो। २०३३ सालमा भूमिगत बन्नुभएका घिमिरेले २०३५ सालदेखि २०४६ सालसम्म कष्टपूर्ण भूमिगत जीवन बिताउनुभयो। भूमिगत भएसँगै उहाँ २०३५ पुस ११ गते कम्युनिस्ट घटक मिलेर बनेको नेकपा (माले)को तेह्रथुम र पाँचथर जिल्लाको सङ्गठक बन्नुभयो। सोही वर्ष पुसमा नेकपा (माले) ताप्लेजुङ जिल्ला कमिटी सदस्य बन्नुभएका घिमिरे २०३८ सालमा नेकपा (माले) मेची क्षेत्रीय कमिटी सदस्य हुनुभयो। २०३९ सालमा इलाम जिल्लाको पार्टी सचिव (प्रमुख) बन्नुभएका उहाँ २०४९ सालमा नेकपा (माले) र नेकपा माक्र्सवादीको एकीकरणपछि सम्पन्न नेकपा (एमाले)को पाँचौ राष्ट्रिय अधिवेशनबाट पहिलो पटक केन्द्रीय सदस्य बन्नुभयो। 

२०५० सालमा नेकपा (एमाले) मेची अञ्चल इन्चार्ज बनेपछि उहाँले लगातार आठ वर्ष त्यही जिम्मेवारीमा निर्वाह गर्नुभयो। पार्टीमा मौन बसेर महत्त्वपूर्ण जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आउनुभएका घिमिरे २०५६ सालमा पूर्वाञ्चल विकास क्षेत्रबाट निर्वाचित भएर राष्ट्रियसभा सदस्य बन्नुभयो। २०५८ सालमा एमाले केन्द्रीय विभागको स्वास्थ्य इन्चार्ज हुँदै उहाँले इन्जिनियरिङ, युवासङ्घ नेपाल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र प्रगतिशील प्राध्यापक सङ्घको इन्चार्ज बनेर काम गर्नुभयो।   


२०६५ सालमा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य बन्नुभएका घिमिरे २०७२ सालमा नेकपा (एमाले) केन्द्रीय सदस्य बन्नुभयो। त्यसलगत्तै उहाँले अध्यक्षको सचिवालय प्रमुख बनेर काम गर्नुभयो। घिमिरे २०७५ सालमा नेकपा एमाले तत्कालीन प्रदेश–१ (कोशी)को अध्यक्ष बन्नुभयो। ठुलो लाभको पद प्राप्त नगरे पनि उहाँले पार्टी सङ्गठनमा महत्त्वपूर्ण जिम्मेवारी पाउनुभएको देखिन्छ । २०७८ सालमा सम्पन्न एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट स्थायी कमिटी सदस्य बन्नुभएका घिमिरेलाई प्रदेश इन्चार्जको जिम्मेवारीसमेत प्राप्त थियो। यो महत्त्वपूर्ण जिम्मेवारी पाए लगत्तै २०७९ सालमा सम्पन्न आम निर्वाचनमा उहाँ झापा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित हुनुभयो। यो विजय यात्राले उहाँलाई प्रतिनिधिसभाको सभामुख बन्ने बाटो खोलिदिएको हो। उहाँ २०७९ साल माघ ५ गते प्रतिनिधि सभाको सभामुख निर्वाचित हुनुभएको हो। 

प्रस्तुत छ –प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’को ५० औं शृङ्खलामा दिनेश लुइटेलले गरेको कुराकानीका आधारमा मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो सामग्री :