• १८ मङ्सिर २०८२, बिहिबार

पियुको डिन कार्यालयमा तालाबन्दी

blog

पियूको डिन कार्यालयमा लगाइएको ताला ।

शशिधर पराजुली 

विराटनगर, मङ्सिर १८ गते । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगरमा अवस्थित डीन कार्यालयमा नेपाली काँग्रेसका स्थानीय कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् । 

विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित विश्वविद्यालय परिसरमै डिन कार्यालय सार्ने तयारी भएपछि विराटनगर १ मा रहेको कार्यालयमा तालाबन्दी गरेको जनाएका छन् ।  

उनीहरुले डिन कार्यालय विराटनगरमै राख्नुपर्ने भन्दै ताला लगाएका हुन् । तालाबन्दी गर्ने कार्यमा नेपाली काँग्रेस, तरुण दल र नेपाल विद्यार्थी संघका कार्यकर्ताहरु संलग्न रहेको बताइएको छ । 

विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठ गाउँमा छ भने डिन कार्याललय विराटनगर –१ को जनता क्याम्पस परिसरबाट सञ्चालन हुँदैआएको छ । कला, कानुन तथा शिक्षा संकाय, विज्ञान तथा प्रविधि संकाय, इञ्जिनियरिङ संकाय र व्यवस्थापन संकायका डिन कार्यालयको कारण क्याम्पसले कक्षा कोठाको अभाव भएकोले ती कार्यालयहरु केन्द्रीय कार्यालय परिसरमै सार्ने निर्णय विश्वविद्यालयले गरेको थियो ।

तर, सामान सार्ने तयारी गरेको जानकारी पाएपछि काँग्रेस कार्यकर्ताहरुले जनता क्याम्पसको मूल प्रवेशद्वार र डिन कार्यालयको ढोकामा तालाबन्दी गरिदिएका हुन् । 

विश्वविद्यालयका विद्यार्थी तथा स्थानीयको सहमतिबिना कार्यालय सार्ने निर्णय लिइएको भन्दै नेपाली काँग्रेस विराटनगरका नेता कृष्ण कार्की, तरुण दलका नेता विमल भट्टराई समेतले तालाबन्दी गरेको विश्वविद्यालयले जनाएको छ । क्याम्पस प्रशासनले त्यसलाई ‘अनावश्यक राजनीतिक हस्तक्षेप’ भनेको छ ।

उपकुलपति डा. बिजु थपलियाले केन्द्रीय कार्यालयका अङ्ग भएका कारण डिन कार्यालय क्रमशः गोठगाउँ सार्ने विश्वविद्यालयको नीति रहेको र विद्यार्थीको चाप र कक्षा कोठाको अभावले क्याम्पसमा पढाइ प्रभावित भइरहेकाले पनि डिन कार्यालय सार्न लागेको बताउनुभयो । उहाँले पहिलो चरणमा कला, कानुन तथा शिक्षा संकाय र विज्ञान तथा प्रविधि संकायका कार्यालय सार्न लागिएको जानकारी दिनुभयो । 

तालाबन्दीका कारण सामान सार्ने काम रोकिएको छ । डिन कर्मचारीले भने केन्द्रीय कार्यालय परिसरमै पुगेर हाजिर गर्न थालेका छन् । विश्वविद्यालयको स्वामित्वमा सुन्दरहरैंचा नगरपालिकास्थित गोठगाउँमा ८०५ बिघा जग्गा रहेको छ । त्यसमध्ये केही क्षेत्रमा विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित कलेज, मेडिकल कलेज, अस्पताल आदि संरचनाहरु निर्माण गरिएको छ ।