बाजुरा समाचारदाता
बाजुरा, वैशाख ११ गते । बाजुराका अधिकांश स्थानीय रोजगारीका लागि छिमेकी मुलुक भारतमा जाने गर्छन् । भारतमा रोजगारी गरेर उनीहरू घरपरिवारको पालन पोषण गर्छन् । केही महिनाअघि रोजगारीका लागि भारतमा गएका बाजुराका स्थानीय अहिले भने गाउँ फर्किन थालेका छन् । भारतमा ग्यासको अभावका कारण त्यहाँका होटेल प्रभावित भएपछि रोजगारीसमेत पाउन मुस्किल हुन थालेकाले बाजुराका सयौँ युवा धमाधम आफ्नै गाउँ फर्किन थालेका हुन् ।
बुढीगङ्गा नगरपालिकाका अनिल सार्कीले भन्नुभयो, “म भारतको एउटा होटेलमा काम गर्थें । ग्यासको अभावले त्यो होटेल बन्द भएपछि अहिले गाउँ फर्किएको हुँ । मेरो हातमा सिप भए पनि सो अनुसारको काम आफ्नो गाउँठाउँमा नपाइने हुँदा के गरेर गुजारा चलाउने भन्ने चिन्ता थपिएको छ ।” उहाँ देशमा जुन सरकार आए पनि दुर्गमका युवालाई परदेसिनुको विकल्प नभएको गुनासो गर्नुहुन्छ । बाजुराको हिमाली, स्वामीकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडीमालिका, गौमुल बुढीगङ्गा त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकाका अधिकांश स्थानीय रोजगारीका लागि सधैँ भारतमा जाने प्रचलन छ ।
यहाँका स्थानीय हिउँदमा कामको खोजी गर्दै भारतमा जाने र गहुँ भित्र्याउने र असार खेतीका लागि गाउँ फर्किने गर्थे । विगतको तुलनाम अहिले गाउँमा सडक पनि पुगेको छ । घर घरमा खानेपानीको सुविधा छ तर पनि यहाँका युवा बिदेसिने क्रम रोकिएको छैन । गाउँमा महिला, बालबालिका र वृद्धवृद्धा मात्रै रहेको स्थानीय जनप्रतिनिधि बताउँछन् ।
युवाले भने स्थानीय सरकारले, युवामुखी कार्यक्रम नल्याएको गुनासो गर्दै आएका छन् । उनीहरू गाउँमा सडक तथा खानेपानी, जमिन भएर मात्र पनि केही नहुने बताउँछन् । खेती लगाउन सिँचाइ सुविधा नभएको, रोजगारीका लागि कुनै अनुदानको व्यवस्था नभएको बताउँछन् । बुढीगङ्गा नगरपालिका–७, झालीका राजसिंह सार्कीले भन्नुभयो, “पहिलो पुस्ताले भारतमै चौकीदारी काम गरेर पेट पाल्यो । अहिले हामीलाई पनि त्यसै गरी पेट पाल्नु परेको छ । गाउँमा केही काम सुरु गरौँ आयस्रोत छैन ।’’ सरकारले विशेष अनुदान कार्यक्रम सञ्चालन गरेर युवालाई गाउँमै रोजगारीको सिर्जना गर्नुपर्ने सार्कीको भनाइ छ ।
वडा नम्बर १ का अध्यक्ष रणबहादुर थापाले भन्नुभयो, “युवाका लागि बाख्रापालन, तरकारी खेतीलगायतका ससाना कार्यक्रम गर्न सकिन्छ । त्यस्ता कार्यक्रमले युवालाई गाउँमै टिकाइराख्न सक्दैन ।” नेपालको २०७८ सालको जनगणना अनुसार बाजुरामा २८ हजार ६४ घरधुरी छन् । त्यसै गरेर यहाँको एक लाख ३८ हजार ५२३ जनाको बसोबास रहेको छ ।