शशिधर पराजुली
विराटनगर, वैशाख ११ गते । कोशी प्रदेश सरकारको बेवास्ताका कारण विराटनगरस्थित ‘शैलजा आचार्य हृदय रोग केन्द्र’ विस्थापनको सँघारमा पुगेको छ । अस्पताल सञ्चालन भइरहेको जग्गाको स्वामित्व रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३० दिनभित्र जग्गा खाली गर्न ताकिता गरेपछि प्रदेश सरकारले त्यहाँ रहेको अस्पताल संरचना जोखिममा परेको हो ।
कोभिड–१९ को महामारीका बेला होल्डिङ सेन्टर सञ्चालन गर्न भन्दै प्रदेश सरकारले खाद्य साबिक नेसनल ट्रेडिङको जग्गा र भवन अल्पकालका लागि मागेको थियो तर सरकारले सो जग्गाको भोगाधिकारसम्बन्धी कुनै औपचारिक सम्झौता नगरी र कम्पनीलाई जानकारी नै नदिई स्थायी प्रकृतिका भौतिक संरचना निर्माण गरेको भन्दै कम्पनीले जग्गा खाली गर्न भनेको हो ।
पटक पटकको पत्राचार र ताकिता गर्दा पनि प्रदेश सरकारले भाडा सम्झौता गर्न र बक्यौता तिर्न बेवास्ता गरेको आरोप कम्पनीले लगाएको छ । पछिल्लो पटक कम्पनीले गत चैत २५ गते पत्र पठाउँदै अस्पताल खाली गर्न अन्तिम अल्टिमेटम दिएको हो । जग्गा खाली गर्न भनी पठाएको पत्रको बोधार्थ स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मोरङमा समेत दिइएको छ ।
कम्पनीको आफ्नै योजना
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार अस्पतालले पाँच बिघाभन्दा बढी जग्गा चर्चेको छ । कम्पनीले पटक पटक सम्झौताका लागि पत्राचार गरे पनि प्रदेश सरकारले त्यसलाई गम्भीरतापूर्वक नलिएको आरोप कम्पनीले लगाएको छ । कम्पनीका जिन्सी तथा सम्पत्ति महाशाखा प्रमुख दीपक कार्कीले प्रदेश सरकारको ढिपी र बेवास्ताका कारण यो अवस्था आएको बताउनुभयो ।
कार्कीले भन्नुभयो, “हामीले सुरुमा कोभिडको समयमा मानवीय अवस्था हेरेर होल्डिङ सेन्टरका लागि मात्र जग्गा दिएका थियौँ । पछि प्रदेश सरकारले सम्झौता नै नगरी अस्पताल चलायो र ठुलो संरचना बनाइयो । हामीले पटक पटक पत्र पठाएर भाडा बुझाउन र सम्झौता गर्न भन्यौँ, तर उहाँहरू टेर्नुभएन । सम्झौता नै नभएपछि हामीले हालसम्म एक रुपियाँ पनि भाडा पाएका छैनौँ ।”
प्रदेश सरकारले वार्षिक १० लाख रुपियाँ भाडा दिने प्रस्ताव गरे पनि पाँच बिघाभन्दा बढी जग्गाका लागि त्यो रकम अत्यन्तै कम भएको कम्पनीको भनाइ छ । कम्पनीले वार्षिक १५ लाखभन्दा बढी भाडा हुनुपर्ने अडान राख्दै आएको थियो । कम्पनीले अब भाडामा लगाउने भन्दा पनि सो स्थानमा आफ्नै परियोजना सुरु गर्ने तयारी गरेको छ । कार्कीका अनुसार सो जग्गामा पाँच हजार मेट्रिक टन क्षमताको आधुनिक गोदाम र साइलो बनाउन विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । चैत २५ गते नै सिडिओ, प्रहरी र नगरपालिकालाई बोधार्थ दिएर जग्गा खाली गर्न भनेको उहाँले बताउनुभयो ।
पटक पटक नाम फेरिएको अस्पताल
विराटनगर महानगरपालिका–१० मा रहेको यो स्थानले छोटो समयमै पटक पटक आफ्नो परिचय बदलेको छ । सुरुमा नेसनल ट्रेडिङको गोदाम रहेको यहाँ कोभिड अस्पताल बनाइयो । त्यसपछि सरुवा रोग अस्पताल हुँदै पछिल्लो समय ‘शैलजा आचार्य हृदय रोग केन्द्र’ का रूपमा विकास गरियो ।
बारम्बार नाम फेर्दै सञ्चालन गरिएको यो अस्पतालले अहिले बल्ल मुटुरोगीका लागि भरपर्दो सेवा दिन थालेको थियो । अस्पतालमा अहिले दैनिक ८० देखि ९० जना बिरामीले मुटुसम्बन्धी निःशुल्क सेवा लिइरहेका छन् । स्विस सरकार र निजी क्षेत्रको समेत लगानीमा यहाँ दुई वटा ठुला अक्सिजन प्लान्ट जडान गरिएका छन् ।
यति ठुलो स्वास्थ्य संरचना र निःशुल्क सेवा चलिरहेको ठाउँ खाली गर्नुपर्ने भएपछि अस्पतालका कर्मचारी र बिरामीमा अन्योल छाएको छ तर कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केकिन राई भने भाडा बुझाउने प्रव्रिmया अगाडि बढेको दाबी गर्नुहुन्छ । राई भन्नुहुन्छ, “हामीले चालु आर्थिक वर्षमा भाडाका लागि १० लाख रुपियाँ बजेट विनियोजन गरेका छौँ । जग्गा खाली गर्ने पत्रबारे मलाई आधिकारिक जानकारी छैन, तर यो सरकारी निकायबिचको कुरा भएकाले अस्पताल नै हट्ने अवस्था नआउला ।” ३० दिनभित्र जग्गा खाली नभए कम्पनीले कानुनी प्रक्रियामार्फत अगाडि बढ्ने चेतावनी दिएको छ ।