• ११ वैशाख २०८३, शुक्रबार

कुपिण्डे तालमा चलचित्र पर्यटन महोत्सव–२०८३ हुँदै

blog

सल्यानको पर्यटकीय स्थल कुपिण्डे ताल । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा
सल्यान, वैशाख ११ गते ।
सल्यानको प्रसिद्ध पर्यटकीय स्थल कुपिण्डे तालमा ‘कुपिण्डे चलचित्र पर्यटन महोत्सव–२०८३’ वैशाख १२ गते (शनिबार) आयोजना हुने भएको छ । वनगाड कुपिण्डे नगरपालिकाको आयोजना तथा रेड चेरी मिडिया प्रा.लि.को व्यवस्थापकीय सहयोगमा महोत्सव सञ्चालन हुन लागेको हो ।

सरकारले घोषणा गरेको ‘घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्य’ सूचीमा समावेश कुपिण्डे तालको प्रचार–प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

महोत्सव शनिबार बिहान ११ः३० बजेदेखि तालको रमणीय किनारमा सञ्चालन हुनेछ । कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, चलचित्र निर्माता–निर्देशक तथा राष्ट्रियस्तरका कलाकारहरूको विशेष उपस्थिति रहने जनाइएको छ ।

महोत्सवमार्फत चलचित्र पर्यटन र स्थानीय कला–संस्कृतिको प्रवर्धन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा स्थानीय लोकनृत्य, भेषभूषा तथा मौलिक सांस्कृतिक प्रस्तुति समेत समावेश गरिनेछ ।

नगरप्रमुख कर्णबहादुर बुढाथोकीले प्राकृतिक सौन्दर्यले भरिपूर्ण कुपिण्डे ताललाई चलचित्र पर्यटनसँग जोडेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय कला, संस्कृति र मौलिक पहिचानलाई संरक्षण गर्दै पर्यटन विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरेका छौँ ।”

चलचित्र निर्देशक चक्रबहादुर चन्दले कर्णालीका लुकेका कथा चलचित्रमार्फत उजागर गर्दै यस क्षेत्रलाई फिल्म तथा पर्यटनको केन्द्र बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।

‘मिनी रारा’ का रूपमा परिचित कुपिण्डे ताल
सल्यानको वनगाड कुपिण्डे नगरपालिका–८ मा अवस्थित कुपिण्डे ताल ‘मिनी रारा’ का रूपमा परिचित छ । समुद्री सतहबाट करिब १,१६० मिटर उचाइमा रहेको यस तालको क्षेत्रफल करिब ०.२५ वर्गकिलोमिटर र अधिकतम गहिराइ करिब ३७ मिटर रहेको अध्ययनले देखाएको छ । तालमा करिब ६१ लाख घनमिटर पानी सञ्चित रहेको अनुमान छ ।

वर्षमा तीन पटक पानीको रङ परिवर्तन हुने यसको विशेषता रहस्यमय मानिन्छ । चारैतिर हरियाली पहाड र जंगलले घेरिएको यस क्षेत्रमा रतुवा, घोरल, कालिजलगायतका वन्यजन्तु तथा विभिन्न जलचर पक्षी पाइन्छन् ।

ताल किनारमा अवस्थित बराहदेव मन्दिरमा वैशाख र मंसिर पूर्णिमामा धार्मिक मेला लाग्ने गर्दछ । डुङ्गा सयर, वनभोज, फोटोग्राफी तथा प्राकृतिक दृश्यावलोकन यहाँका प्रमुख आकर्षण हुन् ।

संरक्षण चुनौती र विकास पहल
अव्यवस्थित सडक, फोहोर व्यवस्थापन तथा वन क्षेत्र घट्दै जानुजस्ता चुनौतीका कारण ताल संरक्षणमा समस्या देखिएको छ । पछिल्ला वर्षहरूमा बाढीले माटो र फोहोर बगाएर ल्याउँदा ताल साँघुरिँदै गएको स्थानीयवासीले बताएका छन् । वडा नं. ८ का वडा अध्यक्ष कुलबहादुर पुरीले आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेसँगै सरसफाइ र पर्यटकीय पूर्वाधार निर्माणलाई छिटो अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

वनगाड कुपिण्डे नगरपालिकाले ताल संरक्षण तथा व्यवस्थापनका लागि विस्तृत परियोजना प्रतिवेदन (म्एच्) र वातावरणीय प्रभाव मूल्याङ्कन (भ्क्ष्ब्) तयार गरिसकेको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थीले संघ, प्रदेश, स्थानीय तह तथा दातृ निकायमार्फत आवश्यक पूर्वाधार निर्माण गर्ने योजना रहेको र यस वर्ष केही कार्य अघि बढाइने बताउनुभयो । योजनाअन्तर्गत ताल संरक्षण, पर्यटन प्रवर्धन, रिङ रोड, भ्यू–टावर र होमस्टे निर्माणलगायतका कार्यक्रम समावेश छन् ।

पर्यटन प्रवर्धनमा नयाँ ऊर्जा
‘कुपिण्डे चलचित्र पर्यटन महोत्सव–२०८३’ ले यस क्षेत्रको प्रचार–प्रसारसँगै पर्यटन प्रवर्धनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ । पर्यटन र चलचित्रलाई जोड्ने यस्ता कार्यक्रमले कर्णालीको आर्थिक सम्भावना विस्तार तथा सांस्कृतिक पुनरुत्थानमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।