अनिल पराजुली
हेटौँडा, वैशाख ११ गते । मकवानपुरको राक्सिराङ गाउँपालिका–८ स्थित जलकुनाखोलामा नुहाउने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ–८ पाङथलीका ६५ वर्षीय हरीबहादुर ब्लोन रहनुभएको छ ।
बिहीबार घरदेखि करिब एक किलोमिटर दक्षिणतर्फ रहेको जलकुनाखोलाको पानी जमेको खोल्सामा नुहाउने क्रममा उहाँ डुबेर बेपत्ता हुनुभएको थियो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रवक्ता नान्तीराज गुरुङका अनुसार स्थानीयवासीले घटना बारे अस्थायी प्रहरी पोष्ट गिङ्गुमा जानकारी गराएका थिए ।
जानकारी प्राप्त भएपछि प्रहरी हवल्दार रमेशप्रसाद यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । खोजतलास गर्ने क्रममा ब्लोन खोल्सामा मृत अवस्थामा फेला परेका हुन् । हाल शव घटनास्थलमै रहेको छ । घटनासम्बन्धी थप अनुसन्धान तथा मुचुल्का तयार गर्न इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक दीपक थापाको नेतृत्वमा थप प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।