सन्तोष दहित
दाङ, वैशाख ११ गते । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा वैशाख १२ गते (शनिबार) घोराहीमा हुने ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किमि रोड रेस प्रतियोगिता–२०८३’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।
परिषद्का सदस्य–सचिव तिरणदाज गौतमका अनुसार प्रतियोगिता बिहान ६ः३० बजेदेखि सुरु हुनेछ । प्रदेश खेलकुद परिषद्को स्वीकृत वार्षिक कार्यक्रमअनुसार खेलकुदको विकास, विस्तार तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
यस वर्ष प्रतियोगिताको पुरस्कार राशिमा उल्लेख्य वृद्धि गरिएको परिषद्ले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले ८० हजार रुपियाँ, द्वितीयले ४५ हजार र तृतीयले २५ हजार रुपियाँ प्राप्त गर्नेछन् । त्यसैगरी चौथोले १५ हजार, पाँचौँले १० हजार र छैटौँदेखि दशौँ स्थानसम्मका खेलाडीले जनही ५ हजार रुपियाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
गत वर्ष २०८२ असार १४ गते सम्पन्न पहिलो संस्करणमा पुरुषतर्फ नेपाल आर्मीका सञ्जय श्रेष्ठले ३१ मिनेट ३०.४८ सेकेन्डमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरेका थिए । महिलातर्फ नेपाल आर्मीकै निशा सार्की प्रथम हुनुभएको थियो ।
त्यस्तै, पुरुषतर्फ नरेन्द्र रावत दोस्रो, नागेश्वर अहिर तेस्रो, विनोद रोकाया चौथो र रुपेश कार्की पाँचौँ भएका थिए । महिलातर्फ पुष्पा भण्डारी दोस्रो, दिया परियार तेस्रो, सुमित्रा कुमारी चौधरी चौथो र पुष्पा कठायक पाँचौँ स्थानमा रहनुभएको थियो ।