काठमाडौँ, वैशाख ११ गते । प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमनका क्रममा पत्रकार आचारसंहिता उल्लंघनका घटनाहरू बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ । काउन्सिलले सार्वजनिक गरेको सूचनामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत तथ्यहीन, अपुष्ट र भ्रामक सामग्री प्रकाशन तथा प्रसारण हुने क्रम बढेको उल्लेख गरिएको छ ।
काउन्सिलका अनुसार केही सञ्चार माध्यममा प्रकाशित सामग्रीका विषयमा पत्रकार तथा सञ्चारकर्मीमाथि विभिन्न आरोप लगाउने, सम्बन्धित पक्षसँग सत्यतथ्य नबुझी एकपक्षीय सामग्री प्रकाशन गर्ने तथा सामाजिक सञ्जालमा आधारहीन टिप्पणी र आरोप फैलाउने प्रवृत्ति देखिएको छ । यस्ता कार्यले व्यक्ति तथा संस्थाको प्रतिष्ठामा असर पार्नुका साथै पत्रकारिताको विश्वसनीयतामा समेत नकारात्मक प्रभाव पार्ने काउन्सिलको भनाइ छ ।
त्यस्तै, विभिन्न व्यक्तिहरू सरकारी तथा सार्वजनिक निकायमा पुगेर भिडियो खिच्ने, कार्यालय प्रमुखसँग दबाबमूलक व्यवहार गर्ने र त्यसलाई पछि समाचारका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिप्रति पनि काउन्सिलले आपत्ति जनाएको छ । काउन्सिलले यस्ता गतिविधि पत्रकारिताको मर्म र आचारसंहिताविपरीत भएको स्पष्ट पारेको छ ।
प्रेस काउन्सिल नेपालले पत्रकारिता क्षेत्रलाई व्यवस्थित, स्वतन्त्र, जिम्मेवार र मर्यादित बनाउन आचारसंहिताको पालना अनिवार्य रहेको बताउँदै सबै सञ्चारकर्मीलाई सत्य, तथ्य, निष्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ । साथै, कुनै पनि सामग्री प्रकाशन वा प्रसारण गर्नु अघि त्यसको सत्यता र विश्वसनीयता सुनिश्चित गर्न पनि सुझाव दिएको छ ।
काउन्सिलले सञ्चार माध्यमबाट प्रकाशित वा प्रसारित सामग्रीबाट पीडित हुने व्यक्ति वा संस्थाले उजुरी दिन सक्ने व्यवस्था रहेको जानकारी दिँदै, प्राप्त उजुरीमाथि आवश्यक छानबिन गरी दोषीलाई कारबाही गरिने चेतावनी दिएको छ ।
यसैबिच, सामाजिक सञ्जालको प्रयोग गर्दा मर्यादा र जिम्मेवारी कायम राख्न तथा पत्रकारिताको मूल्यमान्यताविपरीत कार्य नगर्न काउन्सिलले सबैलाई आग्रह गरेको छ ।
