लीलाधर वली
घोराही, वैशाख ११ गते । दाङको लमही बसपार्क क्षेत्रमा निर्माण गरिएका अस्थायी टहरा हटाइने भएको छ । लमही नगर विकास समितिले वडा नं. ५ अन्तर्गत बसपार्क क्षेत्रमा रहेका अस्थायी टहरा हटाउने निर्णय गरेको हो ।
समितिले २०८२ चैत ८ गते ३५ दिने सूचना जारी गर्दै व्यवसायीहरूलाई टहरा खाली गर्न आग्रह गरेको थियो । उक्त सूचनाको म्याद वैशाख १२ गतेसम्म रहेको र सो अवधिभित्र टहरा खाली नगरिए वैशाख १३ गतेबाट हटाइने लमही नगर विकास समितिका अध्यक्ष तथा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले जानकारी दिनुभयो ।
नगर प्रमुख चौधरीले तोकिएको समयभित्रै टहरा खाली गर्न सबै व्यवसायीलाई अनुरोध गर्नुभएको छ । “३५ दिने सूचना जारी गरेर सबैलाई जानकारी गराइसकिएको छ,” उहाँले भन्नुभयो, “निर्धारित समयमा स्वेच्छाले टहरा खाली नगरे सुरक्षा निकायको सहयोगमा हटाइनेछ।”
लमही नगर विकास समितिले उक्त क्षेत्रमा निर्माण गरिएका ३९ वटा व्यावसायिक टहरा लामो समयदेखि भाडामा उपलब्ध गराउँदै आएको थियो । तर सम्झौताअनुसार टहरा हटाउन व्यवसायी तयार नभएपछि समितिले क्षेत्र खाली गराउन सूचना जारी गरेको हो ।