• ११ वैशाख २०८३, शुक्रबार

पृथ्वी जोगाउन वन संरक्षण आवश्यक

blog

अमृतप्रसाद पौडेल
म्याग्दी, वैशाख ११ गते ।
पृथ्वी संरक्षणका लागि वन संरक्षण अपरिहार्य रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ, म्याग्दीले बिहीबार बेनीमा आयोजना गरेको ‘मौसम तथा जलवायु सूचना सेवा प्रणाली’ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख बसन्तकेशव अधिकारीले पृथ्वी जोगाउन वन जोगाउनुपर्ने बताउनुभयो ।

जलवायु परिवर्तनका कारण वनजंगलमा समेत क्षति पुगिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यदि हामीले बसोबास गर्ने पृथ्वी जोगाउनु छ भने वन संरक्षण पहिलो प्राथमिकता हुनुपर्छ।” वन डढेलोका करिब ९५ प्रतिशत घटना मानव कारणले हुने भएकाले त्यसलाई न्यूनीकरण गर्न विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

वनले कार्बन अवशोषण गरी अक्सिजन उत्सर्जन गर्ने भएकाले मानव जीवनका लागि सबैभन्दा नजिकको जीवनदाता वन नै भएको उहाँले उल्लेख गर्नुभयो । यस वर्ष नियमित वर्षाका कारण वनजंगल हरियाली भएकाले डढेलोको जोखिम कम हुने अनुमानसमेत उहाँले गर्नुभयो ।

वनका पातपतिङ्गर प्रयोग गरी जैविक मल उत्पादन गर्न सके डढेलो नियन्त्रणमा सहयोग पुग्ने बताउँदै उहाँले खेतबारीमा मल प्रयोग गर्दा समयमै प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीका अध्यक्ष सुन्तली जिसीले पछिल्लो समय मौसमको ढाँचा झन् अनिश्चित बन्दै गएको बताउनुभयो । अत्यधिक वर्षा, खडेरी, हावाहुरी, असिना, चट्याङ, बाढी, डुबान, पहिरो र डढेलोजस्ता विपद्का घटनाले जनजीवन प्रभावित भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

म्याग्दीको बेनीमा आयोजित कार्यक्रममा मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिका तथा बेनी नगरपालिकाबाट सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रम महासंघका अध्यक्ष सुन्तली जिसीको अध्यक्षता, उपाध्यक्ष तेजकुमारी पुनको स्वागत र सचिव मुक्ति खड्काको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका सभापति अमर बानियाँले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।