• ११ वैशाख २०८३, शुक्रबार

राहुघाट जलविद्युत् आयोजना अन्तिमचरणमा

blog

आयोजनामा निर्माण गरिएको विद्युतगृह । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य  
बेनी, वैशाख ११ गते ।
म्याग्दीमा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना अन्तिमचरणमा पुगेको छ । जिल्लाको रघुगंगा गाउँपालिकामा नौ वर्ष अघि निर्माण सुरु गरिएको आयोजना ढिला गरी सम्पन्न हुन लागेको हो । आयोजना पहिलोपटक २०७१ मा सुरु गरिएपनि निर्माण व्यवसायीले ठेक्का तोडेपछि कम्पनी मोडेलमा लगेर पुन २०७४ बाट आयोजना निर्माण थालिएको थियो ।  

आयोजना निर्माण गर्ने ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण आयोजना सम्पन्न गर्न ढिलाइ भएको हो । सम्झौताको चौथो पटक म्याद थपेर आयोजना सम्पन्न गर्न लागिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्धक रहेको यस आयोजनाको अहिले ९५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युत्गृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुगेसँगै आयोजना परीक्षण उत्पादनको तयारीमा जुटेको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी जेठभित्र परीक्षण उत्पादन गर्ने लक्ष्यसहित निर्माण भएका भौतिक संरचनाको परीक्षणको तयारी गरिएको छ । सिभिल, हाइड्रो र इलेक्ट्रोमेकानिकलका संरचना निर्माण र उपकरण जडान सकेर फिनिसिङ भइरहेको उहाँले जानकारी दिनुभयो । सुरुङमा पस्ने चारवटा प्रवेशमार्ग बन्द गराएपछि पानी भरेर परीक्षण गर्ने योजना छ ।

भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०७४ मङ्सिर ६ गते  छ अर्ब रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । आयोजनाको २०२५ नोबेम्बरसम्मका लागि तेस्रोपटक म्याद थपिएको थियो । तेस्रो पटक थपिएको समयअवधिमा आयोजना सम्पन्न हुननसकेपछि चौथोपटक म्याद थपिएको समयभित्र आयोजना सम्पन्न गराउने लक्ष्यअनुसार काम भइरहेको आयोजनाले जनाएको छ ।  

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँ को फेदीमा बाँध, छ किलोमिटर दुईसय ७० मिटर लामो मुख्य सुरुङ र दुईवटा पानी थिग्य्राउने पोखरी निर्माण सकिएको छ । 

तिल्केनीचौरमा विद्युतगृह निर्माण अन्तिमचरणमा पुगेको छ । विद्युतगृह परिसरमा आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि स्वीचयार्ड तयार पारिएको छ ।

कोरोना महामारी, बाढीपहिरोलगायत प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजनाको काममा ढिलाइ भएको ठेकेदार कम्पनी जेपीले जनाएको छ ।

भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग २०७६ साल कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२ दशमलव ३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता भएको थियो ।

भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एण्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको हो ।

यसअघि ३२ मेगावाट क्षमताको आयोजना २०७१ सालमा अघि बढाइएको थियो । नेपाल सरकार, विद्युत प्राधिकरण र भारतीय एक्जिम बैंकको सहुलियत ऋण सहयोगमा निर्माण सुरु भएको आयोजना साढे तीन वर्षभित्र सम्पन्न लक्ष्य सहित भारतीय निर्माण कम्पनी आइभिआरसीएलसँग सम्झौता भएको थियो ।

कमजोर आर्थिक अवस्थाका कारण निर्माण कम्पनीले आयोजना अघि बढाउन नसकेपछि  २०७२ सालमा आइभिआरसीएल ठेक्का तोडेर कम्पनी मोडेलमा आयोजनाको क्षमता बढाएर पुनः निर्माण सुरु गरिएको थियो ।

पछिल्लोपटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्स (जेपी)ले विसं २०७५ असारमा पहुँचमार्ग र विसं २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।