गोविन्द शर्मा
बाँके, वैशाख ११ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषधको बिक्री–वितरण, सेवन र ओसारपसारविरुद्ध नेपालगञ्ज र कोहलपुरमा विशेष अप्रेशन सञ्चालन गरेको छ । वैशाख ९ गते साँझदेखि सुरु गरिएको उक्त विशेष अप्रेशनका क्रममा १२७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले उक्त जानकारी दिनुभयो ।
दुवै सहरका विभिन्न स्थानमा लागुऔषधको बिक्री–वितरण, ओसारपसार तथा सेवन भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले अप्रेशन सञ्चालन गरेको हो । प्रहरी निरीक्षक विष्टले भन्नुभयो, “लागूऔषध सेवन, कारोबार र ओसारपसारमा संलग्न व्यक्तिसँगै होटलहरूमा अनैतिक क्रियाकलापमा संलग्न व्यक्तिहरू पनि पक्राउ परेका छन् ।”
प्रहरीका अनुसार लागुऔषध बिक्री–वितरण, ओसारपसार र सेवनमा संलग्न १११ जना तथा होटलहरूमा अनैतिक कार्यमा संलग्न १६ जना गरी कुल १२७ जना पक्राउ परेका छन् ।
पक्राउ परेकामध्ये सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ का साहिल नेपालीलाई जिल्ला अदालत बाँकेबाट ७ दिन र वीरेन्द्रनगर नगरपालिका–१३ का चन्द्र नेपालीलाई १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
यसैगरी, पक्राउ परेकामध्ये २ जना होटल सञ्चालकलाई जिल्ला प्रशासन कार्यालय बाँकेबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । अन्य लागुऔषध सेवनकर्तालाई अभिभावकसहित परामर्श दिई अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
नेपालगञ्ज पछिल्ला केही वर्षदेखि ब्राउनसुगरलगायत लागुऔषधको ‘हब’ का रूपमा देखिँदै आएको सुरक्षा निकाय र सरोकारवाला निकायहरूले बताउँदै आएका छन् । सीमापारि भारतीय बजार रुपैडियाबाट ब्राउनसुगर तथा अन्य लागूऔषध भित्र्याई बाँकेका विभिन्न सहरी तथा ग्रामीण क्षेत्रमा पुर्याउने गरिएको पाइएको छ ।
लागुऔषध नियन्त्रणका लागि प्रहरीले विशेष अभियान सञ्चालन गर्दै आएको छ । पछिल्लो समय ग्रामीण क्षेत्रमा समेत युवापुस्ता लागुऔषधको उच्च जोखिममा रहेको पाइएको छ ।