• ११ वैशाख २०८३, शुक्रबार

कर्णाली उज्यालो भविष्यतर्फ अघि बढ्दैछ : प्रदेश प्रमुख जोशी

blog

हिमा गाउँपालिकाको नेत्रज्योति माध्यमिक विद्यालयमा १६ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितालाई सम्बोधन गर्दै प्रदेश प्रमुख यज्ञराज जोशी । तस्बिर : नेत्र शाही

नेत्र शाही
जुम्ला, वैशाख ११ गते ।
कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णाली प्रदेश अब उज्यालो भविष्यतर्फ अघि बढिरहेको बताउनुभएको छ । जुम्लाको हिमा गाउँपालिकाले आयोजना गरेको १६ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उहाँले कर्णाली विगतमा विपन्नताको प्रतीकका रूपमा चिनिए पनि अब ती दिनहरू क्रमशः समाप्त हुँदै गएको बताउनुभयो ।

उहाँले कर्णाली प्रदेश भाषा र सभ्यताको धनी मात्र नभई यहाँका भूमिमा सुन–चाँदी तथा पौराणिक वस्तुजस्ता सम्पदा रहेको दाबी गर्नुभयो । विगतमा पैदलै नेपालगन्ज पुग्न कठिन हुने कर्णालीमा अहिले कच्ची सडक भए पनि यातायात खुलेको र त्यसलाई स्तरोन्नति गर्न सरकारको प्राथमिकता हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रदेश प्रमुख जोशीले खेलकुद क्षेत्र अत्यन्त महत्त्वपूर्ण भएकाले विद्यालयस्तरबाटै विद्यार्थीको प्रतिभा पहिचान तथा खेलकुद विकासमा जोड दिनुपर्ने बताउँदै स्थानीय तहको प्रयासप्रति धन्यवाद व्यक्त गर्नुभयो । हिमा गाउँपालिकाको नेत्रज्योति माध्यमिक विद्यालय, ओदीमा बिहीबार सुरु भएको प्रतियोगिताको उद्घाटन उहाँले गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले खेलकुदलाई प्राथमिकता दिनकै लागि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन हुँदै आएको बताउँदै विभिन्न विधाका प्रतिभावान् खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । दुर्गम गाउँमा पुगेर प्रतियोगिता उद्घाटन गरेकोमा उहाँले प्रदेश प्रमुख जोशीप्रति आभार व्यक्त गर्नुभयो ।

गाउँपालिका खेल संयोजक धिरेन्द्रबहादुर रोकायाका अनुसार १६ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा हिमा गाउँपालिकाका ६ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा विभिन्न खेल विधाहरू समावेश छन् । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।