• १८ मङ्सिर २०८२, बिहिबार

प्रियासनको १३ औँ कृति ‘नयाँ लुगा’ सार्वजनिक

blog

उपन्यासकार प्रियासनको कृति लोकार्पण गरिदै ।

सन्तोष दहित

दाङ, मङ्सिर १८ गते । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव तथा उपन्यासकार सविन प्रियासनको १३ औँ कृति  ‘नयाँ लुगा’ को बिहीबार घोराहीमा विमोचन गरिएको छ। राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा परिषद्का पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनालले उपन्यासको विमोचन गर्नुभयो।

उपन्यास विमोचन गर्दै खनालले प्रियासनको सिर्जनशीलता, सोच र लगानी प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। उहाँले उपन्यास लेखनमा निरन्तरता आवश्यक भएको र हिजोभन्दा आज, आजभन्दा भोलि फरक सोच र शैली प्रयोग गर्दै समाजलाई चेतना दिने किसिमका कृतिहरू जन्मिनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार उपन्यासमा केवल प्रेम कथा मात्र होइन, दर्शन, व्यवहार र शिक्षालाई अझ जोडन सके समाजलाई सकारात्मक दिशा दिन सकिन्छ।

त्यस्तै, उपन्यासकार सविन प्रियासनले ‘नयाँ लुगा’ एक बाल उपन्यास भएको स्पष्ट गर्दै उपन्यासमा बालबालिकाका गतिविधि, उनीहरूका व्यवहार र कल्पनामा आधारित कथाहरूलाई जोड दिइएको बताउनुभयो। उहाँका अनुसार उपन्यासमा समावेश विषयवस्तुले देश कस्तो बनाउनु पर्छ भन्ने दृष्टिकोण प्रस्तुत गर्छ र आत्मनिर्भर अर्थतन्त्र विकास नभएसम्म राष्ट्रले अग्रगति को बाटो लिन नसक्ने सन्देश दिन खोजिएको छ।

राप्ती साहित्य परिषद्, दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती साहित्य परिषद्का पदमप्रसाद शर्मा र नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डा. सुदीप गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। शुरेश कुमार पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन परिषद्का सचिव घनश्याम केसीले गर्नुभएको थियो।

यसैबीच कार्यक्रममा २० वर्षकै उमेरमा विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएकी रक्षाकुमारी यादव र घोराही –१०, नारायणपुरस्थित सिद्धरत्ननाथ माविबाट प्लस टू अध्ययनपछि एमबिबिएसमा पूर्ण छात्रवृत्ति हासिल गर्न सफल रोशनी घर्ती मगरलाई अभिनन्दन गरिएको छ ।