अनिल पराजुली
हेटौँडा, वैशाख ११ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले लोकतन्त्र केवल शासन व्यवस्था मात्र नभई जीवन पद्धति पनि भएको बताउनुभएको छ । लोकतन्त्र दिवस २०८३ को अवसरमा शुक्रबार शुभकामना दिँदै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर स्थानीय तहसम्म अधिकार पुर्याउने अवसर प्राप्त भएको उल्लेख गर्नुभयो ।
“लोकतन्त्रको वास्तविक फल तब मात्र प्राप्त हुन्छ, जब जनताले सहज रूपमा सेवा, न्याय र विकासको अनुभूति गर्न पाउँछन् । अधिकारको उपयोगसँगै देशप्रतिको कर्तव्य पालन गर्नु र प्राप्त उपलब्धिहरूको रक्षा गर्नु हामी सबै नागरिकको साझा जिम्मेवारी हो,” उहाँले भन्नुभयो ।
उहाँले लोकतन्त्र अझ सुदृढ, पारदर्शी र जनमुखी बन्दै जाने विश्वास व्यक्त गर्दै २०६२/०६३ को लोकतान्त्रिक जनआन्दोलनको सफलतास्वरूप प्राप्त व्यवस्थाले सहिदहरूको सपना साकार पार्न र नागरिक अधिकारको रक्षा गर्न सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।
“आजको यो ऐतिहासिक दिन नेपाली जनताले आफ्ना अधिकार र स्वतन्त्रताका लागि गरेको दोस्रो जनआन्दोलन सफल भएको दिन हो । निरङ्कुशताको अन्त्य गरी जनताको हातमा सार्वभौमसत्ता फर्काउन आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,” उहाँले भन्नुभयो ।
लोकतन्त्र दिवसको अवसरमा उहाँले बागमती प्रदेशसहित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।