• ११ वैशाख २०८३, शुक्रबार

अस्वाभाविक मूल्यवृद्धि

blog

हरेक वस्तुमा अस्वाभाविक ढङ्गले मूल्यवृद्धि भएको छ । पश्चिम एसियाको युद्धलाई देखाएर पटक पटक इन्धनको मूल्य बढाइएको छ । इन्धनको मूल्य बढेपछि यसको असर हरेक क्षेत्रमा पर्नु स्वाभाविक हो । अचाक्ली महँगी बढ्नुमा यही मात्र कारण होइन । यसका पछाडि कुनै न कुनै कमजोरी छ भन्ने बिर्सनु हुँदैन । बजारमा अहिले हरेक प्रकारका तरकारी, फलफूल र खाद्यान्नको मूल्यमा एकरूपता छैन । पसलैपिच्छे मनपरी मूल्य छ । उपभोक्ता अन्योलमा छन् । चर्को मूल्य तिरेर खाद्यान्न र फलफूल किन्न बाध्य छन् । अरूको तुलनामा तरकारी र केराको मूल्य अत्यधिक बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरकारीको मूल्य पछिल्लो समय दुई सय प्रतिशतसम्म बढेको छ । गत वर्ष र यस वर्षको एकै मितिको तरकारीको मूल्य तुलना गर्दा न्यूनतम १२ प्रतिशत र अधिकतम २२४ प्रतिशतसम्म बढेको पाइएको हो । थोक र खुद्रा दुवै व्यापारी मूल्य बढेको बताउँछन् । गत वर्षको तुलनामा गोलभेँडा, लौका, घिरौँला, भिन्डी, काउली, बन्दा, सिमीलगायतका तरकारी महँगो भएको छ । अब त हिउँदे तरकारीको सिजन सकिएर बर्खे तरकारी आउन सुरु भएको छ तर पनि तरकारीको मूल्य घटेको छैन । कालीमाटी बजारमा सामान्य अवस्थामा दैनिक एक हजार मेट्रिक टनभन्दा बढी तरकारी भित्रिने गर्छ । अहिले भने छ/सात सय मेट्रिक टनमा सीमित भएको छ । उपभोक्ताको माग अनुसार तरकारी र फलफूलको आपूर्ति नहुँदा मूल्य बढेको समितिको भनाइ छ । यो बेला हिउँदे तरकारीको सिजन सकिएको र नयाँ तरकारी आउने क्रममा रहेकाले मूल्यमा असर देखिएको व्यापारी बताउँछन् । अब भने बर्खे तरकारी आउने क्रम सुरु भएकाले आपूर्ति बढ्ने र मूल्य क्रमशः घट्ने अपेक्षा गरिएको छ । 

कालीमाटी बजारमा अधिकांश तरकारी उपत्यकासहित पहाडी जिल्ला धादिङ, मकवानपुर, काभ्रे, नुवाकोट, दोलखा, रामेछापलगायत र तराईका जिल्ला सर्लाही, बारा, पर्साबाट आउने गर्छन् । यतिखेर बजारमा केराको मूल्य छोइनसक्नु छ । बजारमा व्यवसायीले कृत्रिम अभाव देखाएर केरामा अस्वाभाविक मूल्यवृद्धि गराएका छन् । सरकारले स्वदेशी उत्पादन प्रवर्धन गर्न भारतबाट आयात हुने केरामा प्रतिबन्ध लगाएको छ । यही बेला व्यापारीले भने केराको अभाव देखाएर मनपरी मूल्य बढाएको उपभोक्ताको गुनासो छ । बजारमा अहिले एक दर्जन केराको मूल्य बढेर तीन सय रुपियाँदेखि चार सय रुपियाँ पुगेको छ । यस्तो प्रकारको मूल्यवृद्धि यसअघि कहिल्यै भएको थिएन । नेपाल केरा उत्पादक महासङ्घले पनि यसमा आपत्ति जनाएको छ । व्यापारीले आयात रोकिएको बहानामा अभाव देखाएर केरामा मूल्यवृद्धि गराएको उसको दाबी छ । किसानको मूल्य धेरै नबढे पनि केही व्यवसायीले केरामा कालोबजारी देखाएर दोब्बर मूल्यवृद्धि गरेका छन् । किसानले पाउने मूल्य प्रतिदर्जन काँचो केरा ५० देखि ७० रुपियाँ मात्र रहेको छ । केरामा भइरहेको यस्तो कालोबजारी नियन्त्रण गर्न सम्बन्धित निकायलाई पत्राचार गरिएको महासङ्घले जनाएको छ । नेपालमा वार्षिक नौ लाख मेट्रिक टन केरा आवश्यक पर्ने गर्छ । हाल सात लाख मेट्रिक टन उत्पादन भइरहेकाले दुई लाख मेट्रिक टन अझै अपुग रहेको छ । वैशाख, जेठ र असारमा बजारमा केराको खपत बढी हुने गर्छ । अन्य सिजनमा भने केराको खपत कम हुने गर्छ । 

केरा बढी खपत हुने मुख्य सिजनका लागि आपूर्ति व्यवस्थामा सुधार गर्नु पर्छ । माग र आपूर्तिबिच सन्तुलन मिलाउन सकिएन भने पनि समस्या आउँछ । अहिले केराको माग अनुसार आपूर्ति कमी भएर नै यस्तो समस्या आएको हो । भारतबाट केरा आएको छैन । नेपाली उत्पादनले बजारको माग धान्न सकेको छैन । यसमा बिचौलियाको चलखेल बढी छ । यो अर्को मुख्य समस्या हो । बिचौलियाका कारण किसान र उपभोक्ता दुवै ठगिएका छन् । राम्रो व्यवस्थापन गर्ने हो भने स्वदेशी तरकारी र फलफूलमा आत्मनिर्भर बन्न सक्ने सम्भावना छ । यसका लागि केन्द्र, प्रदेश र स्थानीय तिनै तहको सरकारले समन्वय गरेर तरकारी र फलफूलको उत्पादन, आपूर्ति र वितरणलाई व्यवस्थित गर्नु पर्छ । तरकारी र फलफूल खेती विस्तार गरी यसमा आत्मनिर्भर बन्न सकिने सम्भावना छ । यसका लागि किसानलाई सहुलियत र प्रोत्साहन दुवै आवश्यक छ । किसानको उत्पादन बिनाअवरोध, सुरक्षित र व्यवस्थित ढङ्गले छिटोभन्दा छिटो बजारमा पुग्ने वातावरण बनाउनु पर्छ । यसो गरियो भने बारम्बार दोहोरिने यस्ता समस्या समाधान हुने छन् । तरकारी तथा फलफूलबाट थप रोजगारीका अवसर सिर्जना गर्ने आधार बन्ने छ ।