• ११ वैशाख २०८३, शुक्रबार

रुरुक्षेत्रको लोक्मा भन्ज्याङ–रिमुवा साहाघाट खण्ड बन्द

blog

रमेश विश्वकर्मा
गुल्मी, वैशाख ११ गते।
गुल्मी रुरुक्षेत्र गाउँपालिका वडा नम्बर– २ र ६ को लोक्मा भन्ज्याङ–रिमुवा साहाघाट खण्ड हुने भएको छ। यस सडकखण्डमा सडक निर्माण कार्य गर्नुपर्ने भएकाले शुक्रबारदेखि वैशाख २६ गतेसम्म सडक बन्द गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत दिनेश ज्ञवालीले जानकारी दिनुभयो।

प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीका अनुसार यसै गाउँपालिका वडा नम्बर–४ स्थित पनरोमा कन्स्ट्रक्सन एण्ड सप्लायर्सका निर्माण व्यवसायीबाट यस खण्डमा सडक निर्माणको काम हुनेभएको छ। यहाँ निर्माणको काम गर्नका लागि निर्माण व्यवसायीले सडक बन्द गर्न आग्रह गर्दै गाउँपालिकामा निवेदन पेश गर्नुभएको थियो। यस समयावधिमा सडक पूर्ण रूपमा बन्द गर्न लागिएकाले वैकल्पिक सडक प्रयोग गरेर निर्माण कार्यमा सहयोग गरिदिन गाउँपालिकाले अनुरोध गरेको छ।

निर्माणको समयमा वैकल्पिक मार्गको रुपमा भन्ज्याङ–बम्घाकोट र भन्ज्याङ–रिमुवा सडक प्रयोग आग्रह गरिएको छ। गाउँपालिकाले वडा नम्बर–२ ग्वादी, वडा नम्बर–६ रिमुवा र पनरोमा कन्स्ट्रक्सन एण्ड सप्लायर्सलाई सडक बन्दको सूचना पाटी राख्नका लागि बोधार्थसहित पत्र पठाउनुका साथै आवश्यक सहयोगका लागि आग्रह गरिएको बताइएको छ।