ढल्केबर समाचारदाता
ढल्केबर, वैशाख ११ गते । धनुषा जिल्लाका अधिकांश स्थानीय तहले सडक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सक्रिय भएका छन् । मिथिला, गणेशमान चारनाथ, छिरेश्वरनाथ, मिथिला बिहारी, सहिदनगरलगायतका स्थानीय तहले पूर्वसूचना जारी गरेर अतिक्रमित भवन तथा संरचना हटाउन अभियान नै सञ्चालन गरेका हुन् ।
यसै क्रममा मिथिला नगरपालिकाले पहिलो चरणमा ढल्केबर चोक क्षेत्रमा पूर्वपश्चिम लोकमार्ग तथा सहायक मार्ग मिचेर बनाइएका पक्की भवन र टहरा हटाउन सुरु गरेको छ । सडक विस्तार तथा व्यवस्थित सहरी विकासलाई ध्यानमा राख्दै अतिक्रमण हटाउने कार्य अघि बढाइएको नगरप्रमुख महेन्द्र महतोले बताउनुभयो ।
उहाँले सार्वजनिक तथा सडक मापदण्ड मिचेर बनाइएका सबै संरचना खाली गराइने बताउँदै पूर्वसूचनासहित अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँको अनुसार पूर्वपश्चिम लोकमार्ग तथा दुर्गा मन्दिर सहायक मार्ग क्षेत्रमा रहेका अतिक्रमित संरचना क्रमशः हटाइने छन् । सडकको मापदण्ड कायम गरी आवागमन सहज बनाउने तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको नगरप्रमुख महतोको भनाइ छ ।
यसै गरी छिरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख सुखदेव यादवले सार्वजनिक स्थान तथा सडकपेटीमा राखिएका अनावश्यक सामग्री हटाउन सुरु गरिएको बताउनुभयो । उहाँले तीन दिनदेखि छिरेश्वरनाथ नगरपालिकामा यो अभियान सञ्चालनमा रहेको बताउँदै सडकलाई व्यवस्थित, सुरक्षित र सुन्दर बनाउने लक्ष्य लिएको जानकारी दिनुभयो ।
यो अभियान क्रमशः नगरपालिकाका सबै १० वटै वडामा विस्तार गरिने उल्लेख गर्दै नगरप्रमुख यादवले नगरवासीलाई आफ्ना घरअगाडि राखिएका अतिक्रमित सामग्री खाली गर्न आग्रह गर्नुभयो ।
सहिदनगर नगरपालिकाका नगरप्रमुख दिनेशप्रसाद यादवले सहिदनगर क्षेत्रका मुख्य सडकबाट अतिक्रमण हटाइसकिएको र अन्य स्थानमा पनि अभियान जारी रहेको बताउनुभयो । उहाँले पूर्वसूचना दिए पनि खाली नगरेका स्थानमा नगरपालिकाले जेसिबी प्रयोग गरेर अतिक्रमण हटाएको जानकारी दिनुभयो । यस क्रममा हुने सम्भावित क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै वहन गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।
सडकपेटी खाली गर्ने क्रममा स्थानीयवासीलाई केही समय असहजता भए पनि दीर्घकालीन रूपमा यो अभियान सबैका लागि लाभदायक हुने नगरप्रमुख यादवले बताउनुभयो । उहाँले सडकपेटी अतिक्रमणका कारण सवारी दुर्घटना बढ्ने र आगलागी जस्ता विपत्का बेला दमकल समयमै पुग्न कठिनाइ हुने समस्या रहेकाले अभियानलाई तीव्रता दिएको उल्लेख गर्नुभयो ।