अजय शाह
गौशाला (महोत्तरी), वैशाख ११ गते । सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय महोत्तरीले राहदानी वितरणमा नयाँ व्यवस्था लागू गरेको छ । अब राहदानी बनाउने सेवाग्राहीले आफ्नो घर ठेगानामै राहदानी प्राप्त गर्न सक्ने भएका छन् ।
नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत बुँदा नं. २७ कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरी र जिल्ला हुलाक कार्यालयबीच समझदारी भएपछि उक्त सेवा सुरु गरिएको हो ।
सम्झौताअनुसार सेवाग्राहीले राहदानीका लागि आवेदन दिँदा उल्लेख गरेको ठेगानामा नेपाल हुलाक सेवामार्फत सुरक्षित रूपमा राहदानी पु¥याइनेछ । हुलाक कार्यालयले राहदानीको सुरक्षित ढुवानी, प्राप्तकर्ताको पहिचान पुष्टि गरी हस्तान्तरण गर्ने तथा वितरणसम्बन्धी अभिलेख राख्ने जिम्मेवारी लिनेछ ।
यसअघि राहदानी लिन सेवाग्राही आफैं कार्यालय पुग्नुपर्ने बाध्यता रहेकामा नयाँ व्यवस्थाले समय, खर्च र झन्झट घटाउने विश्वास गरिएको छ । विशेषगरी ग्रामीण भेगका नागरिकलाई यसबाट बढी लाभ पुग्ने अपेक्षा गरिएको छ ।
कार्यालयले आवेदन फाराम भर्दा आफ्नो ठेगाना तथा सम्पर्क विवरण स्पष्ट र सही रूपमा उल्लेख गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । साथै, सेवा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायबीच समन्वयलाई थप मजबुत बनाइने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकीय अधिकृत कामेश्वर यादव र जिल्ला हुलाक कार्यालय महोत्तरीका हुलाक अधिकृत रामचन्द्र साहले समझदारीपत्रमा हस्ताक्षर गरी राहदानी वितरण सेवा सुरु गरिएको हो ।