• ११ वैशाख २०८३, शुक्रबार

स्याङ्जाको कफी बीउ अन्तरिक्ष पुगेर फर्कियो

blog

कफीको बीउ अन्तरिक्ष । तस्बिर सौजन्य : बोधराज अर्याल

अर्जुन काफ्ले
स्याङ्जा, वैशाख ११ गते ।
कफी र सुन्तला उत्पादनमा सक्रिय स्याङ्जाको पुतलीबजार नगरपालिका–११ मायाटारीका बोधराज अर्यालले उत्पादन गरेको कफीको बीउ अन्तरिक्ष पुगेर फर्किएको छ । अरविका जातको कफीको बीउ जापान हुँदै अन्तरिक्षमा पुगेर करिब एक वर्षपछि पुनः स्याङ्जामा आइपुगेको हो ।

अर्यालको ‘फाम्र्स प्यासन’ ब्रान्डको अरविका कफीको बीउ नेपालमै पहिलो पटक अन्तरिक्ष पुगेर फर्किएको बताइएको छ ।

अर्यालले २०८२ वैशाखमा जापान पठाएको कफीको बीउ साउनमा अन्तरिक्षमा पुगेको थियो । अन्तरिक्षमा पुगेको करिब आठ महिनापछि गत चैत १५ गते नेपाल फर्किएको हो ।

जापानबाट हाइड्रोजन बेलुनमार्फत पठाइएको कफीको बीउ करिब २७ किलोमिटर उचाइसम्म पुगेको र त्यहाँ करिब तीन घण्टा रहेपछि पुनः पृथ्वीमा फर्किएको कृषकका छोरा उबित अर्यालले बताउनुभयो । नेपालको झण्डासहित बीउ अन्तरिक्ष पुगेर फर्किएको उहाँले जानकारी दिनुभयो ।

अन्तरिक्षबाट फर्किएको बीउ अर्यालले प्राप्त गरेपछि वैशाख ५ गते करेन्डाडाँ नर्सरीमा रोपिएको छ । जापानको ताकुशिमा विश्वविद्यालयले अनुसन्धानका लागि उक्त कफीको बीउ अन्तरिक्षमा पठाएको हो ।

अन्तरिक्षमा माइनस २८.१ डिग्री सेल्सियस तापक्रमसम्म पुगेको उक्त बीउ पृथ्वीमा फर्किएपछि रोप्दा कस्तो परिवर्तन आउँछ भन्ने अध्ययनका लागि प्रयोग गरिएको कृषक बोधराज अर्यालले बताउनुभयो ।

रातो चेरी, पार्चमेन्ट र ग्रीन बिन गरी तीन प्रकारका २० ग्राम कफी बीउ अन्तरिक्ष पठाइएको थियो ।

पार्चमेन्ट कफीको बीउ अहिले नर्सरीमा उमार्न राखिएको छ भने रातो चेरी र ग्रीन बिनलाई प्रदर्शनीका रूपमा राखिने अर्यालले बताउनुभयो ।

अन्तरिक्षको न्यून गुरुत्वाकर्षण र फरक वातावरणका कारण बीउको संरचना, विकास प्रक्रिया तथा उत्पादन क्षमतामा परिवर्तन आउन सक्ने अनुमान गरिएको छ । यस्ता बीउ पृथ्वीमा रोप्दा बोटको वृद्धि, स्वाद र उत्पादनमा के–कस्तो फरक पर्छ भन्ने अनुसन्धानको मुख्य उद्देश्य रहेको अर्यालले बताउनुभयो ।

अन्तरिक्षबाट फर्किएको बीउ नर्सरीमा रोपिएको र करिब ६० दिनभित्र उम्रने अपेक्षा गरिएको छ । उम्रिएका बिरुवालाई छुट्टै बगैंचामा रोप्ने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

अर्यालले वार्षिक करिब एक टन कफी जापान निर्यात गर्दै आउनुभएको छ । आफ्नै उत्पादन तथा खरिद गरी विगत १०–१२ वर्षदेखि जापानमा कफी निर्यात भइरहेको उहाँले बताउनुभयो ।