• ११ वैशाख २०८३, शुक्रबार

हटेन बालविवाह

blog

बुलबुले समाचारदाता

सुर्खेत, वैशाख ११ गते । वीरेन्द्रनगर नगरपालिका–३ की बिनु थापाको १७ वर्षको उमेरमा विवाह भयो । अहिले २५ वर्ष नपुग्दै उहाँ तीन सन्तानकी आमा भइसक्नुभएको छ । उमेर बढेपछि बिहे गर्ने बेला भएको ठानेर आमाबाले बिहे गरिदिएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “विवाहपछि बाल्यकालका सबै रहर जिम्मेवारीमा परिणत भए ।’’ 

बिनु जस्तै रमा विकको पनि १६ वर्षमै बिहे भयो । उहाँ २० वर्ष लाग्दा दुई सन्तान जन्मिसके । लेखपढ र रमाउने उमेरमा उहाँ काखे नानी च्यापेर पारिवारिक जिम्मेवारी पूरा गर्दै हुनुहुन्छ । यी दुई किशोरी प्रतिनिधि पात्र मात्र हुन् । कर्णालीका धेरै किशोरीले उमेर नपुग्दै विवाह गर्ने गरेको तथ्याङ्कले देखाउँछ । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा दुई प्रतिशतले १५ वर्ष नपुग्दै विवाह गर्ने गरेका छन् । जसमा महिला ३.१ प्रतिशत तथा पुरुष ०.६ प्रतिशत रहेका छन् । उक्त दर नेपालभर १.९ प्रतिशत रहेको छ । जसमा महिला तीन प्रतिशत तथा पुरुष ०.५ प्रतिशत छन् । यसै गरी १८ वर्ष नपुग्दै विवाह गर्ने दर कर्णालीमा २०.१ प्रतिशत रहेको छ । जसमा महिला २९ प्रतिशत तथा पुरुष ९.५ प्रतिशत छन् । कर्णालीमा २० वर्ष नपुग्दै विवाह गर्ने दर ४३.६ प्रतिशत रहेको छ । जसमा महिला ५५.६ प्रतिशत तथा पुरुष २९.२ प्रतिशत रहेका छन् । 

बालविवाह तोडेर बालिकालाई घर वा स्कुल फर्काउनु ठुलो चुनौती रहेको सरोकारवालाले बताएका छन् । मङ्गलबार वीरेन्द्रनगरमा भएको बालविवाह, बालयौन दुव्र्यवहार तथा बालबालिका ओसारपसार रोकथाम र बालअधिकारसम्बन्धी कार्यशालाका सहभागीले यस्तो बताएका हुन् । कार्यक्रममा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले चेतनाको अभावका कारण बालविवाह थप बढ्दो क्रममा रहेको बताउनुभयो ।