• २८ असार २०८२, शनिबार

‘सांसदलाई सवाल’

नुवाकोट विकासमा पछाडि पर्नु विडम्बना हो : सांसद बिमला सुवेदी

blog

काठमाडौँ, असार २८ गते । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाको कानुन न्याय तथा मानवअधिकार समिति सभापति विमला सुवेदीले नुवाकोट विकासमा पछाडि पर्नु बिडम्बना भएको बताउनुभएको छ। गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा कुराकानी गर्नुहुँदै सांसद सुवेदीले यस्तो बताउनुभएको हो।

‘नुवाकोट हिजो पञ्चायतकालमा पनि अर्थमन्त्री भएको जिल्ला हो। बहुदल आएपछि अर्थमन्त्रीले नछोडेको जिल्ला हो। गणतन्त्र आएपछि पनि अर्थमन्त्री बन्नुभयो, धेरै मन्त्री र सांसद भएर पनि नुवाकोटको विकास नहुनु बिडम्बना हो’, सांसद सुवेदी भन्नुहुन्छ।  हरेक पालिकामा एउटा राम्रो बाटो बन्नुपर्ने बताउने सांसद सुवेदी जिल्लाको विकासका लागि कृषि आयातालाई प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुहुन्छ। संविधान निर्माणपछि देश विकासको महाअभियान सुरु भएको उहाँको दाबी छ।

नकारात्मक पक्षलाई हटाएर सकारात्मक विषयलाई अङ्गिकार गरेर अगाडि बढ्नुपर्ने सुवेदीको भनाइ छ। औपचारिक शिक्षा नुवकोटमै लिनुभएकी सांसद सुवेदीको मिहिनेत देखेर विद्युत् प्राधिकरणको जागिरे दाइले आफू कार्यरत क्षेत्रमै लगेर पढाउनुभयो। सुवेदीले उहाँले विद्यालय शिक्षा नुवाकोट, कैलालीहुँदै काठमाडौँबाट पूरा गर्नुभयो। 

राम्रो अङ्कसहित एसएलसी उत्तीर्ण भएपछि उहाँ पद्मकन्या क्याम्पसमा आईएस्सी पढ्न भर्ना हुनुभयो। तर राजनीतिमा सक्रिय भइसकेकाले उहाँले विज्ञान संकायको पढाइ छोडेर प्रमाणपत्र तहसम्मको पढाइ मात्र पूरा गर्नुभयो। 

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य सुवेदीसँग १० वर्षे जनयुद्धमा सङ्घर्ष गरेको छुट्टै अनुभव छ। परिवारमा एक्लो राजनीतिज्ञ सुवेदीले घरदेखि पार्टीसँगै राज्यसम्म जनताको अधिकारका लागि लडाइँ लड्नुभएको छ। २०४६ सालमा अनेरास्ववियु (छैटौँ)मा आबद्ध भएपछि सुवेदीको राजनीतिक यात्रा सुरु भएको हो। विद्यार्थी राजनीति र आन्दोलनसँगै उहाँ २०५२ सालमा पूर्णकालीन रुपमा तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको जनयुद्धमा सहभागी हुनुभयो। उहाँ ०५२ देखि ०६२ सालसम्म भूमिगत हुनुभयो। भूमिगत जीवनमा उहाँले पार्टीको विभिन्न जिम्मेवारी पूरा गर्नुभयो। माओवादीमा विद्यार्थी जिल्ला सचिव, वाईसीएल जिल्ला संयोजक, अनेमसङ्घ (क्रान्तिकारी) जिल्ला अध्यक्ष हुँदै सुवेदी केन्द्रीय उपाध्यक्ष बन्नुभयो। 

पार्टी संगठनमा जिल्ला सदस्य, ब्यूरो सदस्य हुँदै आठौं महाधिवेशनबाट पोलिटब्यूरो सदस्यको जिम्मेवारी पाउनुभएकी सुवेदीसँग संविधानसभा सदस्य भएर काम गरेको अनुभवसमेत छ। २०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको सदस्य बन्नुभएका सुवेदीले संवैधानिक समितिमा बसेरसमेत काम गर्नुभयो। पछिल्लो समय २०७९ सालमा उहाँ नुवाकोटबाट माओवादीको तर्फबाट समानुपातिक कोटामा प्रतिनिधि सभाको सदस्य निर्वाचित हुनुभएको हो। 

प्रस्तुत छ- प्रतिनिधि सभाको कानुन न्याय तथा मानवअधिकार समिति सभापति एवम् नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य बिमला सुवेदीसँग गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’को ५१ औं शृङ्खलामा दिनेश लुइटेलले गरेको कुराकानीका आधारमा मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो सामग्रीः