नारायणगढ मङ्सिर १४ गते । सुजता (नाम परिवर्तन) चार वर्षको हुँदा आमाले दोस्रो विहे गर्नुभयो । आमासँग छुट्टीएपछि आफू मामाघरमा गएर बसेपनि दुई वर्षपछि फेरि घरमै फर्केर बसेको सुजता बताउनुहुन्छ ।
“मामा घरमा बस्दै गरेका बेला बुबा लिन आउनुभयो । घरमा जाँदा त बुबाले पनि दोस्रो विवाह गरिसक्नुभएको रहेछ । घरमा बस्दा सौताने आमाको दिनदिनै कुटपिट खाइन्थ्यो”, उहाँको थप दुखेसो थियो, “बुबाले सधै रक्सी खाइरहने एक दिन त बुबाले रक्सी खाएर सौताने आमालाई कुटेर घरबाट निकाल्दिनुभयो । म एक्लै भएको मौका पारेर राति बाबाले रक्सीकै नसामा मलाई जवरजस्ती गर्नुभयो ।”
सुजताले नौ वर्ष अघिको घटना सुनाउदै गर्दा गहभरी आँशु थियो । यो घटना सार्वजनिक गरे आफूलाई मारिदिने धम्की दिएपछि लामो समयसम्म बाहिर भन्न नसकेको तर पछि प्रहरीमा उजुरी गरेर बुबालाई कारवाही गरिएकोे उहाँले जानकारी दिनुभयो ।
यस्तै, चितवनकै सविता (नाम परिवर्तन) को १३ वर्षकै उमेरमा गर्भ रह्यो । सविताको हुर्कदै गरेको गर्भ अरु कोहीको नभएर आफ्नै बाबाको भएको सविता वताउनुहुन्छ ।
“म ११ वर्षको हुँदा आमा बित्नुभयो । म १३ वर्षको हुँदा बुबाले जवरजस्ति गर्नुभयो”, उहाँले भन्नुभयो, “मलाई थाहा भएन । मेरो पेटमा त गर्भ हुर्कदै गयो । पछि अविवाहित अवस्थामा गर्भ बोकेपछि सवैले खै गरे । अनि बुबाको भएको बताए पछि बुबालाई प्रहरीले समातेर लग्यो । म मञ्जुश्री असाय संरक्षण केन्द्रमा आश्रीत भएकै अवस्थामा छोरालाई जन्मदिए ।”
“जब राति हुन्थ्यो बुबा रक्सी खाएर आउनुहुन्थ्यो । मलाई डर लाग्थ्यो । जवरजस्ती गरेर यो कुरा बाहिर भनिस भने तलाई काट्छु मार्छु भन्नुहुन्थ्यो । त्यसैले पनि कसैलाई भन्न सकिन । तर पछि विस्तारै पेट बढ्दै गएपछि सवै कुरा वाहिर आयो”, उहाँले भन्नुभयो ।
माथिका दुई घटना त प्रतिनिधि घटना हुन् । पछिल्लो समय बुबा, दाई मामा जस्ता नाता पर्नेहरुबाटै घरभित्रै चेलीहरु असुरक्षित हुँदै छन् भन्ने यो प्रीतनिधि घटनाले पनि पुष्टि गरेको छ । नेपाल प्रहरी केन्द्रीय कार्यालयमा रहेको तथ्याङ्क अनुसार विगत तीन वर्षमा सात हजार ८५१ जना चेलीहरु आफन्तबाटै बलात्कृत हुनुपरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले आफन्तबाटै जवरजस्तिमा पर्ने चेलीहरुको सङ्ख्या डरलाग्दो रहेको बताउनुहुन्छ ।
“तीन वर्षको अवस्था हेर्ने हो भने हजुरबाबाट ५३ जना, बुबा/झड्केला बुबाबाट २४२ जना, ससुराबाट ४१, छोराबाट २५ जना, काका/मामा/ठूलाबाबाट १४५ जना, दाईभाई र मामाको छोरा ठूलाबाको छोराबाट १७९ जना, देवर जेठाजुबाट ६७ जना, श्रीमानबाट १७१ जना, घर मालिकबाट १० जना, केटा साथिबाट ५०७ जना, छिमेकीबाट एक हजार ७६१ जना, भिनाजुबाट ६० जना, शिक्षकबाट ३१ जना, अन्य चिनेजानेकाबाट तीन हजार ८४३ जना, पारपाचुके भएको श्रीमानबाट एक जना, नचिनेका अन्यबाट ५१५ जना महिलाहरु जवरजस्तिमा परेका छन्”, उहाँले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरी परिवार भित्रै जवरजस्तिका घटना देखिनुमा अशिक्षा, गरिवी र पारिवारिक बिग्रह प्रमुख कारण मान्नुहुन्छ ।
“बा आमाको झगडाकै कारण सन्तान बिचल्लीमा छन् । पारिवारिक बिग्रहले पनि समस्या बढाएको छ । आमाविहीन छोरीहरु पनि बढी असुरक्षित छन्”, उहाँले भन्नुभयो । उदाहरणका दुबै पात्र पनि पारिवारिक बिखण्डनमा परेका हुन् ।
हिंसामा परेका महिलाहरुको संरक्षण तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरिराख्नु भएको मञ्जुश्री असाय संरक्षण केन्द्रका सञ्चालक मञ्जु खाँड पनि अहिलेको समस्या अशिक्षा, जनचेतनाको अभाव, लागुऔषध र मादक पदार्थ सेवनलाई प्रमुख कारण ठान्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो समस्या ग्रामीण क्षेत्रमा बढी छ । पीडितका लागि रोजगारी दिनुपर्यो । घटना बढ्यो भन्नुभन्दा नि यसका कारण खोजेर समस्या समाधानमा लाग्नुपर्छ । दीर्घकालीन समस्या समाधाानका लागि पीडकलाई कानुनी दायरामा ल्याउदै गाउँ टोल स्तरबाटै चेली सुरक्षाका लागि जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ ।”
नेपालमा जवरजस्ती करणीको अवस्थामा
तथ्याङ्क मुद्दादर्ता प्रतिवादी सङ्ख्या
२०८१/०८२ २२५३ २४८७
२०८०/०८१ २५०७ २७६०
२०७९/०८० २३८७ २६०४
स्रोत : नेपाल प्रहरी