• ३२ असार २०८२, बुधबार

मौरीको पनि कृत्रिम गर्भाधान

blog

नारायणगढ, असार ३२ गते । मानिस, गाई, भैँसी जस्ता जनावरमा जस्तै मौरीमा पनि कृत्रिम गर्भाधान गर्ने प्रविधि नेपालमा सफल भएको छ । लामो समयको अध्ययन र प्रयासपछि चितवनको भन्डारामा रहेको मौरीपालन विकास केन्द्रले मौरीको नश्ल सुधार्दै कृत्रिम प्रजननमार्फत ‘रानी’ उत्पादन सुरु गरेको छ । 

केन्द्रका प्रमुख सुजन अमगाईं केन्द्रका विज्ञ प्राविधिकले मौरीलाई कृत्रिम गर्भाधान गराएर रानु उत्पादन गर्न सफल भएको जानकारी दिनुभयो । “भालेको विर्यलाई कुमारी रानुमा प्रत्यारोपण गरी सफल रूपमा रानु मौरी उत्पादन गर्न हाम्रा विज्ञ टोली सफल भएका छन्,” अमगाईंले भन्नुभयो । केन्द्रले अहिलेसम्म पाँच वटा रानी कृत्रिम गर्भाधानमार्फत जन्माएको छ । यसरी उत्पादन भएको रानीले आफ्नो उत्पादन दिन थालेको पनि उहाँले जनाउनुभयो । 

“२०८० मा अस्ट्रेलियन मौरी प्रजननविज्ञ रोस्ट वोयन र २०८१ मा अमेरिकाको फ्लोरिडा युनिभर्सिटीका मौरी प्रजननविज्ञ एमेन्डा चितवनमा एक एक हप्तासम्म बसेर प्रशिक्षण दिँदा रानी त उत्पादन भयो तर बचाउन सकिएन,” प्रमुख अमगाईंले थप्नुभयो, “गत वैशाखमा केन्द्रका विज्ञ कालुराम दहितको नेतृत्वको टिमले पुनः अनुसन्धान सुरु ग¥यो । अन्ततः मौरीपालक किसान एनिस महर्जनको समन्वयमा केन्द्रका टोली मौरीको कृत्रिम गर्भाधानमा सफल बन्यो ।” विज्ञ दहितका अनुसार कृत्रिम गर्भाधानमा यसरी तयार भएको कुमारी रानी मौरीलाई भाले मौरीबाट विर्य झिकेर प्रयोगशालामा प्रविधिको माध्यमबाट कृत्रिम गर्भाधान गराइन्छ । यसरी गर्भाधान गराइँदा रानीलाई कार्बन डाइअक्साइड प्रयोग गरेर बेहोश गराइन्छ । 

“कृत्रिम गर्भाधानमा एउटा रानीलाई आठदेखि १२ मिलिग्राम विर्य आवश्यक पर्छ तर एउटा भालेबाट एक मिलिग्राम पनि विर्य निस्कँदैन । त्यसका लागि हामीले १०/१५ वटासम्म भालेको विर्य लिनुपर्ने आवश्यकता हुन्छ,” उहाँले भन्नुभयो । एउटा रानीलाई कृत्रिम गर्भाधान गराउन आफूले ५० वटासम्म भाले मारेर विर्य सङ्कलन गर्नु परेको अनुभव पनि उहाँले सुनाउनुभयो । मौरीको माउ नै रानी हो, जसले आफ्नो गोलाको अगुवाइ गर्छे भने यसले अन्डा उत्पादन गरेर सन्तान वृद्धि पनि गर्छे । रानी मौरीको नेता पनि हो । सबै मौरी यसकै वरिपरि घुम्छन् । मौरीले विशेषतः आकाशमा उड्दाउड्दै सहवास गर्ने विज्ञहरूले बताए । सन्तान जन्माउने एक मात्रै मौरी रानीसँग एकै पटक ५०/६० वटासम्म भालेले सहवास गर्न सक्ने बताइन्छ । तर कृत्रिम गर्भधानका लागि कुमारी रानी नै आवश्यक पर्ने बताइएको छ । भालेबाट विर्य सङ्कलन गर्ने अनि रानीमा प्रत्यारोपण गराउनु नै कृत्रिम गर्भधान हो । प्रमुख अमगाईं एउटा रानीले दिनमै दुई हजारसम्म फुल पार्ने बताउनुहुन्छ । 

“रानीको उमेर ढल्कँदै गएपछि उत्पादन क्षमता पनि ह्रास आउँदै जान्छ,” उहाँले भन्नुभयो, “यसलाई सधैँ वयस्क राखिराख्न र उत्पादन दिने बनाइराख्न पनि कृत्रिम गर्भाधान आवश्यक छ ।” यसले नश्ल सुधारमा सहयोग गरी मह उत्पादनसमेत बढाउने उहाँले जनाउनुभयो । 

एउटा रानीले जन्मिएको २३ देखि २५ दिनबाट फुल उत्पादन गर्न सुरु गर्छे । यो फुल १६ देखि २४ दिनसम्ममा लार्भा प्युपा हुँदै मौरी बन्ने जीवनचक्र भएको विज्ञहरू बताउँछन् । रानीको औसत आयु तीनदेखि पाँच वर्ष हो भने भालेको ५७ देखि ६० दिन र पोथीको ६ हप्तादेखि ६ महिनासम्म हुने बताइन्छ । 

नेपालमा अहिले दुई लाख ५० हजार गोला व्यावसायिक मौरीपालन छन् । यी गोलाका आ–आफ्ना रानु छन् । मौरीविज्ञ राजेशप्रसाद यादव अहिले नेपालमा वार्षिक पाँच हजार टन हाराहारीमा मह उत्पादन भइरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मौरीको गोला बढाउन र मह उत्पादन बढाउने हो भने नश्ल सुधारमार्फत 

नयाँ नयाँ रानी उत्पादन गर्नु पर्छ । त्यसको एक मात्रै माध्यम भनेको कृत्रिम तरिकाले रानु उत्पादन गर्नु हो । जुन नेपालमा सफल परीक्षण सम्भव भइसकेको छ ।”