• ३१ असार २०८२, मङ्गलबार

माउन्ट फुजीको ढुङ्गामा मिठो परिकार

blog

जापानको माउन्ट फुजीबाट ल्याइएको लाभाको ढुङ्गामा मासु पोल्दै कृष्णमणि पौडेल । तस्बिर : वसन्त पराजुली

नारायणगढ, असार ३१ गते । रोजगारीका लागि जापान गएर फर्किएका कृष्णमणि पौडेलले ढुङ्गामा मासु पोलेर बनाइने परिकार ‘इसियाकी’ र यसलाई पोल्ने प्रविधि नेपाल भित्र्याउनुभएको छ ।

‘याप्पारी स्टेक’ रेस्टुरेन्ट खोलेर उहाँले कुखुरा, खसीबोका, बङ्गुर र माछाका विभिन्न परिकारलाई जापानको माउन्ट फुजीबाट निस्किएको लाभाबाट बनेको ढुङ्गामा पोलेर तयार पारिने मासुको परिकार ‘इसियाकी’ को बजारीकरण गर्नुभएको छ ।

उहाँका अनुसार ढुङ्गामै सेक्ने भएकाले त्यसका लागि तेल चाहिँदैन । मासुबाटै निस्किएको चिल्लोले काम गर्छ र थोरै मसला राखे पुग्छ । त्यसैले यो नयाँ परिकार प्रतिग्राहकको आकर्षण बढेको छ ।

‘याप्पारी स्टेक’ का नियमित ग्राहक भरतपुर १२ का नवीन गुरुङ आगोले पोलेको मासुमा खरानी खरानी हुन्छ र स्वस्थ पनि मानिँदैन । ढुङ्गामा पोलेको मासु स्वादिष्ट हाइजेनिक छ । 

‘इसियाकी’ बनाउने ढुङ्गा विशेष खालको हुन्छ, जुन नेपालमा पाइँदैन । “साढे दुई सय डिग्री सेल्सियससम्म तताउँदा पनि लाभाबाट बनेको ढुङ्गा फुट्दैन र लामो समयसम्म सेलाउँदैन पनि,” व्यवसायी पौडेलले भन्नुभयो । उहाँका अनुसार यही तातो ढुङ्गामा मासु सेक्दै खानु नै यसको विशेषता हो । यो गर्मीमा भन्दा जाडोमा अझै प्रभावकारी हुन्छ । 

सन् २०१४ मा विद्यार्थी भिसामा जापान भएका कृष्णले विद्यार्थी भिसापछि कामदार र बिजनेस भिसा गरी आठ वर्ष जापान बसेर नेपाल फर्किएपछि सन् २०२२ मा भरतपुरमा पहिलो पटक ‘याप्पारी स्टेक’ का नामबाट यो व्यवसाय गर्नु भएको हो । यो जापानकै ‘फ्रेन्चाइज’ रेस्टुरेन्ट हो । उहाँका अनुसार अहिले भरतपुरमै दुई वटा स्थापना भइसकेका छन् । यसलाई देशैभर विस्तार गर्ने योजना छ ।

जापानमा ‘याप्पारी स्टेक’ का १३० वटा ब्रान्ड छन् । जापानबाहिर स्थापना भएको ‘याप्पारी स्टेक’ नै आफ्नो पहिलो ‘फ्रेन्चाइज’ भएको उहाँको भनाइ छ । अहिले भने अस्ट्रेलिया र फिलिपिन्समा पनि स्थापना भइसकेको छ ।

जापानमा कृष्ण हेल्पर, कुक हँुदै होटेल सञ्चालक हुनुहुन्थ्यो । यही बेला उहाँले यो परिकार बनाउन जान्नुभएको हो । कृष्णको अहिले पनि व्यवसायका क्रममा जापान जाने आउने जारी नै छ । उहाँले सुरुमा २५० वटा ढुङ्गा ल्याएर ‘इसियाकी’ बनाउन थाल्नुभएको हो । पहिलो रेस्टुरेन्टमा एक सय दोस्रोमा १५० वटा ढुङ्गा सञ्चालनमा छन् ।