• ३० चैत २०८२, सोमबार

खरानी टकटक्याएर पुनरुत्थान

blog

नारायणगढ, चैत ३० गते । 

आमा म त फर्केर आएँ

खरानीबाट उठेर आएँ

कसरी देख्न सक्छु तिम्रो मुटु बलेको 

भाइ भाइबिच तरबार चलेको

इतिहास जलेको विश्वास ढलेको ...

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रचना, दीपक शर्माको सङ्गीत तथा थानेश्वर गौतम, शान्तिश्री परियार, समीर खरेल, सहिमा श्रेष्ठ र सदीक्षा कट्टेलको स्वर रहेको यो गीत अहिले सामाजिक सञ्जालमा बेजोड चर्चामा (भाइरल) छ । 

गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका क्रममा भएको क्षतिपछि बिस्तारै उठ्दै गरेको देशको अवस्थालाई चित्रण गर्दै बनाइएको यो गीत भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङको व्यावसायिक जीवनमा पनि मेल खान्छ । आन्दोलनमा क्षति भएका भाटभटेनीका स्टोर खरानीको जगमा पुनर्निर्माण गर्दै सञ्चालनमा ल्याउन सुरु गर्नुभएको छ । आफू पनि खरानीबाट उठ्दै बिस्तारै अघि बढेको गुरुङ बताउनुहुन्छ । “मैले मेरो विश्वास जल्न र ढल्न दिइनँ । त्यसैले बिस्तारै व्यवसायलाई निरन्तरता दिने योजनासाथ अघि बढेको छु,” उहाँले भन्नुभयो, “जे नहुनु थियो भइहाल्योे । केही कमजोरी भए पनि अब त्यो खरानीमै बिलाओस्, अब उप्रान्त राम्रो मात्र होस् ।” उहाँले मानव जीवन एक पटक आउने बताउँदै त्यो जीवनमा केही न केही गर्नुपर्ने आध्यात्मिक धारणा अघि सार्नुभयो । 

हाल ६६ वर्षीय मीनबहादुरले नेपाल बैङ्क लिमिटेडको जागिर छाडेर २०५० सालदेखि भाटभटेनीको थालनी गर्नुभएको हो । काठमाडौँमा सानो तथा खाद्य पसलबाट सुरु भएको उहाँको व्यापार सञ्जाल छोटो समयमै देशैभर फैलियो । तीमध्ये गत भदौ २४ को आन्दोलनमा उहाँको १२ वटा शाखा पूर्णतः नष्ट भए, १६ वटामा लुटपाट भयो । 

त्यसबाट १६ अर्ब रुपियाँभन्दा बढी क्षति भएको भाटभटेनीले जनाउँदै आएको छ । बिमा कम्पनीले दुई अर्ब तीन करोड क्षतिपूर्ति उपलब्ध गराएको भए पनि अरू आफ्नै पहलबाट उठ्दै गर्दा उहाँको अनुहारमा कुनै दुःखभाव देखिँदैन । पुनर्निर्माणमा कति खर्च लाग्यो भन्ने पनि पत्तो नभएको उहाँको प्रतिक्रिया छ । 

“खर्च कति भयो थाहा छैन । खर्च भइरहेको छ त्यो थाहा छ । विदेशबाट समेत सामान आइरहेको छ । सबै क्षेत्रको निर्माणको खर्च जोड्न बाँकी छ,” उहाँले भन्नुभयो । भाटभटेनीले जलेर नष्ट भएका १२ मध्ये चार वटा शाखा सञ्चालनमा ल्याइसकेको छ । चितवनको भरतपुरसँगै कोटेश्वर, महाराजगन्ज र बालुवाटारको वेयर हाउस सञ्चालनमा ल्याइएका छन् । अब आठ वटा पनि सञ्चालनमा ल्याउने तयारी छ । व्यवसायलाई समयसापेक्ष परिष्कृत गर्नुपर्ने पनि प्रेरक कुरा छ । उहाँले भन्नुभयो, “नोकियाको एकछत्र राज्य थियो । उसले अद्यावधिक गरेन तर सामसुङले समय बुझेर अद्यावधिक ग¥यो र अहिले एकछत्र राज्य गरिरहेको छ । यो कुरा बुझेर नै भाटभटेनीलाई समयसापेक्ष अद्यावधिक गर्दै छौँ ।” 

यसरी उठ्दा अब सरकारले व्यावसायिक प्रतिष्ठानको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताउँदै उहाँले ‘पहिलो नम्बर सुरक्षा नै हो । सुरक्षा राज्यले दिनैपर्छ । लगानीकर्तामा आत्मविश्वास बढाउन सक्नु पर्छ’ भन्नुभयो । “सबैभन्दा ठुलो दान क्षमादान हो । म मेरा भाटभटेनीमा आगो लगाउनेलाई क्षमादान दिन्छु,” उहाँले भन्नुभयो । विगतका विकृति विसङ्गति सबै जलेर जाऊन् भनेर नै पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएका भवनमा पहिले जलेको भवनका फोटामा गुरुङले नमस्कार गरेको तस्बिरसँगै लेखिएको हुन्छ, “हे भगवान् ! अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस् ।”