चाडपर्वको रमाइलोसँगै बिदाको सदुपयोग पनि गर्नु पर्छ । बिदामा खेल्ने काम मात्र गर्नु हुँदैन । बिदा भन्नेबित्तिकै पढ्नै पर्दैन भन्ने बुझाइ गलत हो । दैनिक विद्यालय जानु नपरे पनि शिक्षकले दिनुभएको गृहकार्य गर्नै पर्छ । बिदा हुनेबित्तिकै मोबाइल, कम्प्युटर, ल्यापटप र टिभी जस्ता विद्युतीय सामग्रीमा समय बिताउने गरेको पाइन्छ ।
दसैँतिहारमा लामो बिदा हुन्छ । चाडपर्वको रमाइलोसँगै बिदाको सदुपयोग पनि गर्नु पर्छ । बिदामा खेल्ने काम मात्र गर्नु हुँदैन । बिदा भन्नेबित्तिकै पढ्नै पर्दैन भन्ने बुझाइ गलत हो । दैनिक विद्यालय जानु नपरे पनि शिक्षकले दिनुभएको गृहकार्य गर्नै पर्छ । बिदा हुनेबित्तिकै मोबाइल, कम्प्युटर, ल्यापटप र टिभी जस्ता विद्युतीय सामग्रीमा समय बिताउने गरेको पाइन्छ । यस्ता विद्युतीय उपकरणको धेरै प्रयोग गर्नु हुँदैन । बिदाको सदुपयोग यसरी गर्न सकिन्छः
बिदामा शिक्षकले प्रायः गृहकार्य दिनुभएकै हुन्छ । गृहकार्य हतारिएर एक/दुई दिनमा सक्ने र बाँकी दिन खेल्ने योजना बनाउनु हुँदैन । अझ कतिपयले बिदाको सुरुमा खेल्ने र विद्यालय खुल्ने समय नजिक हुँदा हतारिँदै गृहकार्य गर्ने गर्नुहुन्छ । त्यस्तो गर्नु हुँदैन । हरेक दिन आधा वा एक घण्टा गृहकार्यका लागि समय छुट्याउनै पर्छ । हरेक दिन गृहकार्य गर्दा पढ्ने र लेख्ने बानी हराउँदैन ।
रमाइला पुस्तक पढौँ
बिदामा कोर्सका पाठ्यपुस्तकबाहेकका रमाइला पुस्तक पढ्ने गरौँ । मुना मासिक बालपत्रिका, बालबालिकाका लागि तयार पारिएका कथा, निबन्धलगायतका साहित्यिक पुस्तक पनि पढ्न सकिन्छ । पत्रिका वा पुस्तक पढ्ने अभ्यासले पठन संस्कृतिको विकास हुन्छ । पुस्तक पढ्दा ज्ञान र जानकारी प्राप्त हुन्छ । आफूले सुन्ने गरी पढ्दा बोल्ने कलाको पनि विकास हुन्छ ।
मनोरञ्जन स्थल घुमौँ
मनोरञ्जन स्थलमा गएर पनि बिदाको सदुपयोग गर्न सकिन्छ । पार्क, जङ्गल, पोखरी, चिडियाखाना, सङ्ग्रहालय, पुराना दरबार, ऐतिहासिक स्थल आदि स्थानमा जानु पर्छ । कहिलेकाहीँ सिनेमा हेर्न पनि जान सकिन्छ । ती स्थानमा पुगेर घर फर्किएपछि आफूलाई कस्तो लाग्यो ? के नयाँ कुरा थाहा भयो ? आदिका बारेमा लेख्ने गरौँ ।
घरको काम सिकौँ
बिदाको समयमा घरमा अभिभावकलाई काममा सघाउनु पर्छ । उहाँहरूलाई सघाउँदा आफूले काम पनि सिकिन्छ । खेत वा करेसाबारीका कामदेखि घरभित्रका काम सिक्दा आफूलाई नै फाइदा हुन्छ । बोटबिरुवामा पानी चार्ने, कोठा सफा गर्ने, ससाना लुगा धुने, लुगा पट्याउने, तरकारी केलाउने, भाँडा माझ्ने, चिया पकाउने, खाना पकाउने आदि सिक्दा पछि त्यो सिप जीवनमा निकै काम लाग्छ ।
साथीसँग मिलेर खेलौँ
पक्कै पनि हामीलाई उमेर मिल्ने साथी चाहिन्छ है ? विद्यालय बन्द भएकाले सँगै पढ्ने साथीहरूसँग बिदाका बेलामा भेट नहुन सक्छ । त्यसैले आफ्ना टोलका साथीसँग मिलेर खेल्न सकिन्छ । यसबाट खेल खेल्नुका साथै साथीसँग मिलेर समूह बनाउने, मिलेर खेल्ने कला पनि सिक्न पाइन्छ । पर्याप्त ठाउँ नभएमा घरभित्र खेलिने लुडो, बागचाल, क्यारेम जस्ता खेल खेल्न सकिन्छ ।
आफन्तकहाँ जाऔँ
बिदामा आफन्त भेट्न जाने गरौँ । उहाँहरूकहाँ जाँदा घुम्न पाउनुका साथै चिनजान हुने, सम्बन्ध गाढा हुने, उहाँहरूका हालखबर थाहा हुन्छ । अझ एक÷दुई दिन बस्ने गरी जाँदा पनि हुन्छ । यसबाट भेटघाटका साथै अन्य ठाउँमा गएका बेला बस्ने बानीको पनि विकास हुन्छ । आफन्तकहाँ जाँदा हाम्रो परम्परा, शिष्टाचार, दैनिकी र रीतिरिवाजसमेत सिक्न पाइन्छ ।
अभिभावकसँगै जाऔँ
बिदाको समयमा आफ्ना अभिभावक काम गर्ने ठाउँ वा कार्यालयमा जान सकिन्छ । उहाँहरूको काम गर्ने ठाउँ कस्तो छ ? कसरी काम गर्नुहुन्छ ? उहाँहरूको जिम्मेवारी के रहेछ ? आदि कुरा थाहा पाइन्छ । त्यसबाट हामीले धेरै कुरा सिक्न सक्छौँ । अभिभावकका सहकर्मी वा हाकिमसँग निर्धक्कका साथ कुराकानी गर्न तपाईंको आत्मबल बढ्छ ।
दैनिकी लेखौँ
बिदाको समयमा सुत्नुअघि दिनभरि के कस्ता घटना भए भन्नेबारेमा आफ्नो अनुभवसहितको दैनिकी लेख्ने अभ्यास गर्नु पर्छ । यसले लेखन क्षमताको विकास गर्छ । अक्षर लेखनमा पनि सुधार गर्दछ । शब्द चयन र वाक्य संरचनामा पनि नयाँ शैली सिक्न पाउनुहुन्छ । आफूले लेखेका दैनिकीलाई सुरक्षित राख्नु पर्छ । केही वर्षपछि त्यो पढ्दा आनन्द आउँछ र त्यो बेलाका घटनाको पुनर्ताजगी हुन्छ ।
सामान्य ज्ञान सिकौँ
रमाइलो गरेर ज्ञान आर्जन गर्ने अर्को माध्यम सामान्य ज्ञान पनि हो । सामान्य ज्ञानका माध्यमबाट धेरै ज्ञान प्राप्त गर्न सकिन्छ । धर्म संस्कृति, इतिहासदेखि आधुनिक विज्ञान प्रविधिसम्मका सामान्य ज्ञानका कुरा सिक्न सकिन्छ ।