सिराज खान
नेपालगन्ज, वैशाख १८ गते । ६ देखि ५९ महिनासम्मका बालबालिका तथा पहिलो हजार दिनभित्रका आमामा हुने कुपोषणको समयमै पहिचान गर्ने उद्देश्यले सञ्चालन गरिएको राष्ट्रिय पोषण स्क्रिनिङ अभियान बाँके जिल्लामा प्रभावकारी रूपमा सुरु गरिएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार यो अभियान विभिन्न सङ्घ–संस्थाको सहयोग र समन्वयमा सञ्चालन गरिएको हो । जिल्लामा सञ्चालित जीवनका लागि पोषण परियोजना अन्तर्गत अभियान सुरु गरिएको कार्यालयले जनाएको छ ।
अभियानलाई थप प्रभावकारी बनाउन हेलन केलर इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बाँके युनेस्को क्लबले सहकार्य गरिरहेको छ । स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलका अनुसार अभियान अन्तर्गत बालबालिका र पहिलो हजार दिनभित्रका आमाको उमेर, उचाइ–लम्बाइ तथा तौल परीक्षणमार्फत पोषण अवस्था मूल्याङ्कन गरिने छ ।
स्क्रिनिङका क्रममा गम्भीर तथा मध्यम कुपोषण भएका बालबालिका र कम तौल भएका आमाहरूलाई आवश्यक उपचार तथा पोषण सहयोग प्रदान गरिने व्यवस्था गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
अभियानको पहिलो कार्यक्रम खजुरा गाउँपालिका–२, गउघाटस्थित सीतापुर स्वास्थ्य चौकीबाट सुरु गरिएको हो । सो क्रममा पाँच वर्षमुनिका ६९ जना बालबालिकाको परीक्षण गर्दा पाँच जना मध्यम कुपोषणमा रहेको पाइएको छ । साथै सात जना गर्भवती महिलाको परीक्षण गर्दा दुई जना कुपोषित अवस्थामा रहेको पाइएको छ ।
उक्त कार्यक्रममा स्वास्थ्यकर्मी प्रेमचन्द र सीता थापाले सेवा प्रदान गर्नुभएको थियो भने महिला स्वास्थ्य स्वयंसेविका सुनिता राईको सक्रिय सहभागिता रहेको थियो । न्युट्रिसन सहजकर्ता सुष्मा केसीले स्क्रिनिङ, परामर्श तथा रिफरल सेवामा सहजीकरण गर्नुभएको थियो ।
यसैगरी राप्तीसोनारी गाउँपालिकाका वडा नं. २, ६, ७ र ९ मा समेत पोषण स्क्रिनिङ अभियान सुरु गरिएको छ । सम्बन्धित वडाका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको सहकार्यमा समुदायस्तरमै सेवा सञ्चालन भइरहेको बाँके युनेस्को क्लबले जनाएको छ ।
यस अभियानले बालबालिका तथा आमामा कुपोषणको शीघ्र पहिचान, समयमै उपचार र समुदायस्तरमा पोषण सुधारमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।