• १८ वैशाख २०८३, शुक्रबार

दाउन्ने पूर्वी खण्ड एकतर्फी ढलानले जोडियो

blog

बोमलाल गिरी
नवलपुर, वैशाख १८ गते ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकको पूर्वी खण्डमा एकतर्फी ढलान सम्पन्न भएको छ । सडक आयोजनाले आज सूचना जारी गर्दै यसअघि गरेको प्रतिबद्धता अनुसार पूर्वी खण्डमा एकतर्फी ढलानमार्फत सडक जोडिएको जनाएको हो ।

“प्रतिबद्धता अनुसार अप्रिल महिनाभित्रै दाउन्ने पूर्वी खण्ड एकतर्फी रूपमा ढलान सडकले जोडिएको छ,” आयोजनाले भनेको छ, “अबको १४ दिनपछि नारायणघाटदेखि ६५ किलोमिटर दाउन्नेसम्मको सम्पूर्ण यात्रा पक्की सडकमा गर्न सकिने छ ।”

पश्चिम खण्ड पनि दाउन्ने क्षेत्रमा करिब २५० मिटरबाहेक सबै ढलान सम्पन्न भइसकेको पश्चिम खण्डका सूचना अधिकारी विकास खनालले बताउनुभयो । उहाँका अनुसार दाउन्ने बजार क्षेत्रमा कल्भर्ट निर्माणको काम जारी रहेकाले केही ढिलाइ भएको हो । “अबको १४ दिनमा एकतर्फी र एक महिनाभित्र दुवैतर्फ ढलान सम्पन्न हुन्छ,” उहाँले भन्नुभयो ।

ढलान कार्य सम्पन्न भएपछि यस वर्ष वर्षायाममा यात्रा गर्न विगतजस्तो कठिनाइ नहुने अपेक्षा गरिएको छ । वर्षा अघि नै एकतर्फी ढलान र कालोपत्रे गर्ने लक्ष्यसहित ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको थियो ।

एकतर्फी ढलान कार्य अप्रिल महिनाभित्र सम्पन्न नभएमा भुक्तानी रकम घटाउने चेतावनी सरकारले दिएको थियो । पूर्वी खण्डको भौतिक प्रगति ८० प्रतिशत र पश्चिम खण्डको ८२ प्रतिशत पुगेको आयोजना प्रमुख शिव खनालले जानकारी दिनुभयो ।

दाउन्ने बाहेकका सडकमा बायो–इन्जिनियरिङ अन्तर्गत बिरुवा रोप्ने, सर्भिस लेन बनाउने र मार्किङ गर्ने काम भइरहेको छ । लामो समयदेखि सुस्त गतिमा रहेको सडक विस्तार कार्यले यसपटक गति लिएको भन्दै यात्रु, सवारी चालक तथा स्थानीय खुसी भएका छन् ।

कुल एक सय १३.५३ किलोमिटर लामो यो सडकमा ७० किलोमिटर चार लेन, २९ किलोमिटर चार लेनसहित थप ६–६ मिटर सर्भिस लेन तथा दाउन्ने पहाडी खण्डमा १४ किलोमिटर तीन लेनमा विस्तार गर्ने जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले पाएको हो ।

६४ पुल, ४७४ कल्भर्ट र १ सय ६.१७ किलोमिटर नाली निर्माणसहित सडक विस्तारका लागि २०७५ माघ २४ गते सरकार र निर्माण कम्पनीबिच सम्झौता भएको थियो । परियोजना २०७९ साउन २२ गते सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि समयमै काम सम्पन्न नभएपछि चार पटक म्याद थप भइसकेको छ । अन्तिम पटक थपिएको म्याद यही साउन ८ गते सकिँदै छ ।

एसियाली विकास बैँक (एडीबी) को ऋण सहयोगमा अघि बढेको यस सडक विस्तार योजनाको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपियाँ रहेको छ ।