सिराज खान
नेपालगन्ज, वैशाख १८ गते । बाँकेको बैजनाथ गाउँपालिकाले संस्थागत विद्यालयहरूको व्यवस्थापन सुधार गर्न विभिन्न महत्त्वपूर्ण नीतिगत निर्णयहरू सार्वजनिक गरेको छ ।
गाउँ कार्यपालिकाको कार्यालयले जारी गरेको सूचना अनुसार कार्यपालिकाको बैठकले शिक्षा क्षेत्रमा अनुशासन, पारदर्शिता र विद्यार्थी हितलाई प्राथमिकतामा राख्दै नयाँ व्यवस्था लागु गर्ने निर्णय गरेको हो ।
निर्णय अनुसार आर्थिक वर्ष २०८३/०८४ देखि संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरूलाई श्रम ऐन २०७४ अनुसार न्यूनतम १९ हजार पाँच सय रुपियाँ तलब अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले बताउनुभयो । साथै तलब भुक्तानी बैँकमार्फत गर्नुपर्ने व्यवस्था गरिएकाले यसले पारदर्शिता सुनिश्चित गर्ने विश्वास लिइएको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी, विद्यालयहरूले कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशतलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने निर्णय गरिएको छ । छात्रवृत्ति पाउने विद्यार्थीहरूको नामावली तयार गरी प्रत्येक वर्ष जेठ महिनाको अन्तिमसम्म शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
गाउँपालिकाले अर्को महत्त्वपूर्ण निर्णय अनुसार शैक्षिक सत्र २०८३ देखि लागु हुने गरी आगामी तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तन नगर्न निर्देशन दिएको छ । यसले अभिभावकमा पर्ने आर्थिक भार घटाउने र शैक्षिक स्थिरता कायम गर्ने लक्ष्य राखिएको शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकालले बताउनुभयो ।
शिक्षा शाखा प्रमुख ढकालका अनुसार यी निर्णयहरूले शिक्षा क्षेत्रमा सुधार ल्याउने अपेक्षा गरिएको छ । उहाँले स्थानीय तहको यो पहलले निजी विद्यालयहरूमा उत्तरदायित्व र नियम पालनामा थप कडाइ ल्याउने विश्वास व्यक्त गर्नुभयो ।