• १८ वैशाख २०८३, शुक्रबार

सामाजिक सञ्जालमा झुम्मिने युवा शक्तिलाई उत्पादनसँग जोडिँदै

blog

महिलाले उत्पादन गरेको क्रिष्टलका गहनाहरु ।तस्बिरः अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख १८ गते । हातमा रहेका मोबाइलमा फेसबुक, टिकटक र युट्युब हेरेर फुर्सदको समय खेर फालिरहेका युवा तथा महिलाहरूलाई तनहुँमा सीप सिकाएर उत्पादनसँग जोड्न थालिएको छ ।

सामाजिक सञ्जालको लत र बेरोजगारीले गर्दा समयको दुरुपयोग भइरहेको अवस्थालाई मध्यनजर गर्दै स्थानीय तहले उनीहरूलाई आत्मनिर्भर बनाउने अभियान सुरु गरेका हुन् ।

यसै क्रममा म्याग्दे गाउँपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत महिला तथा युवालाई स्वरोजगार बनाउन विशेष सीपमूलक तालिम सञ्चालन गरेको छ ।

गाउँपालिकाको वडा नम्बर १ मा १८ जना महिलालाई फुर्सदको समय सदुपयोग गर्दै क्रिष्टलका गहना, फेब्रिक तथा दूबोको माला बनाउने सीप सिकाउन थालिएको छ ।

गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेका अनुसार कम लगानीमा घरेलु तथा कुटिर उद्योग सञ्चालन गरी आम्दानी गर्न सकिने भएकाले यो कार्यक्रमलाई प्राथमिकता दिइएको हो ।

“स्थानीय महिला र युवाको माग अनुसार नै तालिम प्रदान गरिएको छ, जसले उनीहरूलाई स्वावलम्बी बन्न मद्दत पुग्नेछ ।” न्यौपानेले भन्नुभयो ।साना मियाँमार्फत सञ्चालित तालिममा क्रिष्टलको माला, पोते, औँठी, टप र चुरा लगायतका सामग्री बनाउन सिकेपछि स्थानीय महिला हर्षित भएका छन् । 

 कार्यपालिका सदस्य थममाया वि.कका अनुसार यसरी उत्पादित सामग्रीको बजार राम्रो भएकाले महिलाहरू नमुना उद्यमी बन्ने लक्ष्यका साथ सीप सिक्न सक्रिय छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले स्थानीय स्तरमा उत्पादन र उत्पादकत्व वृद्धि गरी आर्थिक समृद्धि हासिल गर्नु गाउँपालिकाको मुख्य लक्ष्य रहेको बताउनुभयो ।

चालु आर्थिक वर्ष २०८२÷०८३ मा २५ जनालाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने लक्ष्य राखिएको छ ।

यस कार्यक्रमले एकातिर सामाजिक सञ्जालमा समय खर्चने जनशक्तिलाई सीपयुक्त बनाएको छ भने अर्कोतिर स्थानीय उत्पादन र नवीनतालाई प्रवद्र्धन गर्दै दिगो आर्थिक विकासमा टेवा पुर्‍याउने विश्वास गरिएको छ ।