जनार्जन खत्री
सर्लाही, वैशाख १८ गते । सर्लाही सदरमुकाम मलङ्गवामा शुक्रबार पोखरीमा डुबेको अवस्थामा एक युवक मृत फेला पर्नुभएको छ । मलङ्गवा नगरपालिका–४, का ३५ वर्षीय दिवानी भन्ने मोहबुब मिकरानी मृत फेला पर्नुभएको हो । उहाँ मलङ्गवा नगरपालिका–४, पन्दुबा पोखरीमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीयले शुक्रबार सबेरै पोखरीभित्र बेवारिसे युवकको शव देखेपपछि प्रहरीमा खबर गरेका थिए । मृतकको आमा आएर शवको सनाखत गरेको प्रहरीले जनाएको छ ।
आमाले छोरा मोहबुबको हत्या भएको हुनसक्ने आशङ्का व्यक्त गर्नुभएको छ । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।
सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले मृतकको शरीरमा शङ्कास्पद कुनै प्रकारको चोटपटक नदेखिएको जानकारी दिनुभयो । पोस्टमार्टमपछि मात्र मृत्युको कारण पत्ता लाग्ने प्रनाउ राईले बताउनुभयो ।